
जोमसोम ।
यहाँ स्याउपछि मुख्य नगदबालीको रुपमा आलु खेती अग्रस्थानमा पर्दछ । चिसो हावापानीमा उत्पादन हुने यहाँको स्याउलगायतका शीतोष्ण फलफूलका साथै उवा, फापर, जौ, मकै र आलु पोषिलो र स्वादिलो हुने गर्छ । यसै कारण मुस्ताङको आलु अन्य जिल्लाको भन्दा विशेष महत्व हुने गर्छ ।
समुद्री सतहको दुई हजार पाँच सय मिटर उचाइको उच्च हावापानीमा उत्पादन हुने मुस्ताङी आलु उपभोक्ताको आकर्षण बनेको छ ।
यहाँको स्याउपछि प्रमुख उत्पादनको रुपमा रहेको मुस्ताङी आलु तल्लो मुस्ताङमा फागुन महिनामा रोपेर भदौको पहिलो हप्तादेखि खनेर बाहिर निकालिन्छ । उपल्लो मुस्ताङमा भने चैत महिनाको अन्तिम र वैशाखको पहिलो हप्तासम्म खेतबारीमा आलु रोपेर असोज–कार्तिक महिनामा खनेर बाहिर निकाल्ने गरिन्छ ।
मुस्ताङका किसानले यहाँ दुई थरी आलु उत्पादन गर्ने गर्छन् । यहाँ विकासे रातो आलु र स्थानीय जातका सेतो लोकल आलु उत्पादन हुँदै आएको छ । यहाँ दुई थरीका आलु उत्पादन हुने भए पनि यहाँको स्थानीय लोकल आलुलाई बढी मात्रामा रुचाइने गरिन्छ । मुस्ताङ लोकल आलुको बोक्रा पातलो हुने भएकाले क्षणभरमै पाक्ने गर्छ । यहाँको आलु तरकारीमा मिसाउनेदेखि उसिनेर वा अन्य परिकार बनाएर खाने प्रचलन छ ।
यतिबेला मुस्ताङका किसान खेतबारीमा आलु खनेर थन्क्याउन भ्याइ–नभ्याई छन् । यहाँ किसानले उत्पादन गरेको लोकल सेतो आलु स्याउ जस्तै खेतबारीमै बिक्री हुन्छ । यहाँका किसानले उत्पादन गरेको आलु व्यापारीहरू खेतबारीमै पुगेर खरिद गर्ने गरेको घरपझोङ–५ ठिनीका कृषक महेन्द्र थकालीले जानकारी दिए । ‘आलु उत्पादन गर्न मात्रै सकियो भने बिक्री नहुने कुरै भएन, व्यापारीहरू खेतबारीमै आएर आलु किन्न हानाहान गर्छन्,’ कृषक थकालीले भने, ‘दुःख र मेहनत मात्रै गर्न सके उत्पादन गरिएको आलु बिक्री नहोलाकी भन्ने कुनै चिन्ता हुँदैन ।’
मुस्ताङमा उत्पादित आलु सहरबजारका भान्साघरहरूमा पाहुनाका लागि पाक्ने गर्छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज भएसँगै यहाँ उत्पादन गरिएको आलु पोखरा–काठमाडौंलगायतका सहरहरूमा पु¥याउने गरिएको किसान थकालीको भनाइ छ ।
यसैगरी वारागुङ–४ कागबेनीका किसान छेप्तेन गुरुङ पनि खेतबारीबाट आलु निकालेर बोरामा प्याकिङ गर्न व्यस्त छन् । अरुको अधिया कमाएका गुरुङले उत्पादन गरिएको सबै आलु व्यापारीलाई बिक्री गरिसकेको बताउँछन् । ‘‘हामीले आलु खनेर निकाल्ने, भर्ने र बोरामा प्याकिङ गरिदिने हो,’’ किसान गुरुङले भने, ‘‘त्यसपछि व्यापारी आफैँ आएर बजार पु¥याउँछ ।’’ किसान गुरुङले उत्पादन गरिएको आलु प्रति माथि दुई सय रुपियाँमा बिक्री गरेको जानकारी दिए ।
मुस्ताङमा नियमित वर्ष यहाँको कृषि ज्ञान केन्द्रले आलु उत्पादनको तथ्याङ्क राख्ने गरेको पाइँदैन । आ.व. २०८०/८१ मा यहाँ ४२९ हेक्टर क्षेत्रफलमा ७ हजार ३१ मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लाको थासाङ, घरपझोङ, वारागुङ, लोघेकर र लोमान्थाङ गाउँपालिकामा आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रको अघिल्लो तथ्याङ्क अनुसार थासाङमा १ हजार ३७५ मेट्रिक टन, घरपझोङमा १ हजार ५५१ मेट्रिक टन, वारागुङमा २ हजार ३१० मेट्रिक टन, लोघेकरमा १ हजार ३०९ मेट्रिक टन र लोमान्थाङमा ३९४ मेट्रिक टन आलु उत्पादन भएको थियो ।
उपल्लो मुस्ताङमा विगत दुई वर्षदेखि सामूहिक आलु खेती गरिएको छ । स्थानीय तहको अनुदान सहयोगमा त्यहाँ सामूहिक आलु खेती गरिएको स्थानीय कर्मसम्टुक गुरुङले जानकारी दिए ।
मुस्ताङका किसानले बर्सेनि आलु बिक्री गरेर सामान्यतया १ लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया