संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि कांग्रेस नेता पौडेलको आह्वान

समाधान संवाददाता २०८२ भदौ २६ गते १०:२८

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संवैधानिक समाधान र राष्ट्रिय मेलमिलाप अपरिहार्य भएको बताएका छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठन, संविधान संशोधन तथा पार्टी नेतृत्वले राजीनामा दिएर छ महिनाभित्र महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग भएको भन्दै उनले निन्दा गरेका छन् भने आन्दोलनको आडमा घुसपैठ गरी सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहको पनि भर्त्सना गरेका छन् ।

Advertisement

कांग्रेस सभापति शेरबहादुर देउवासहितका राजनीतिक तथा राष्ट्रसेवक व्यक्तिमाथि भएको हमलाको उनले घोर निन्दा गर्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

देशलाई राजनीतिक र संवैधानिक शून्यताबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै पौडेलले राष्ट्रपतिले थालेको संवाद पहललाई स्वागत गरेका छन् । उनले युवाले उठाएका भ्रष्टाचार र कुशासनविरुद्धका आवाज जायज भएको स्वीकार गर्दै यस सङ्कटलाई राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने बताएका छन् ।

Advertisement

पौडेलका अनुसार मुलुकलाई तत्काल निकास दिन नेपाली कांग्रेसले आन्तरिक बैठकमार्फत ठोस निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया