राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य हुँदैन : बृहत नागरिक आन्दोलन

समाधान संवाददाता २०८२ भदौ २६ गते १३:५५

काठमाडौं ।
बृहत नागरिक आन्दोलनले नेपाली सेनाको सक्रियतामा राजतन्त्र पुनःस्थापना गर्ने र धर्मनिरपेक्षता खारेज गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रकारको षडयन्त्र स्वीकार्य नहुने स्पष्ट गरेको छ ।

आन्दोलनले बिहीबार विज्ञप्ति जारी गर्दै ‘प्रतिक्रान्तिलाई परास्त गरौँ’ भन्ने आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले के स्पष्ट हुँदैछ भने जेन–जी आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ । यो हामीलाई पटक्कै स्वीकार्य छैन ।’

नागरिक आन्दोलनले जेन–जी आन्दोलनको म्यान्डेट गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गर्ने नभएको उल्लेख गरेको छ । विज्ञप्तिमा जेन–जीले सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने चाहनाका लागि आन्दोलन नगरेको स्पष्ट गरिएको छ ।

Advertisement

‘जेन–जीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि नै संगठित रूपमा तयारी गरेअनुसार नागरिकमाथि भौतिक, आर्थिक र मानसिक दमन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ ।

संविधानले दिएको जिम्मेवारी र जेन–जी आन्दोलनले देखाएको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै सेनाले आफ्नो भूमिका पूरा गर्नुपर्ने आन्दोलनको माग छ । विज्ञप्तिमा भनिएको छ, ‘तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै प्रकारको अन्तरक्रिया बन्द गरोस्, र आगामी छलफल तथा कार्यक्रमहरू राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र होऊन् ।’

Advertisement

तपाईको प्रतिक्रिया