संविधानभित्रबाटै सरकार गठन गर्न नेपाल बारको माग

समाधान संवाददाता २०८२ भदौ २६ गते १६:०७

काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको भर्चुअल बैठकले वर्तमान संवैधानिक जटिलतामा संविधानभित्रैबाट सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले जेनजी पुस्ता नै अहिले अन्योलतामा रहेको भन्दै विकल्प र सुझाव दिने बेला आवश्यक रहेको बताए । उनले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री खोज्नु हुँदैन भनी स्पष्ट पारेका छन् । संवैधानिक सङ्कटबाट मुलुकलाई बाहिर ल्याउन नेपाल बारले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले परिस्थिति पूर्ण रूपमा विश्लेषण गरेर मात्र अगाडि बढ्नुपर्ने बताए । उनले जेनजी मुभमेन्ट किन आयो र यसको मूल कारणहरू के–के हुन् भन्नेबारे स्पष्ट हुन आवश्यक रहेको पनि बताएका छन् । उनले भने, ’केही मानिसहरूको कुरा सुन्न नै जेनजी पुस्ता तयार नरहेको देखिएको छ ।’

Advertisement

कानुन व्यवसायी ताराकुमार श्रेष्ठले जेनजीको भावनालाई सम्बोधन गर्ने गरी विज्ञप्ति जारी गर्नुपर्ने बताए । उनले भने, ’जेनजीको आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्ध भएको कुरा नेपाल बारले बिर्सन हुँदैन । न्याय प्रक्रिया अघि बढेको प्रत्याभूति हुनु जरुरी छ ।’

कम्तीमा सर्वोच्च अदालतले न्यायको प्रत्याभूति हुनेगरी बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्नुपर्ने सुझाइएको छ । वरिष्ठ अधिवक्ता बाबुराम जोशीले भने, जेनजीको आन्दोलन संविधान विरोधी नभई भ्रष्टाचार नियन्त्रण र पूर्ण कार्यकालको सरकार सुनिश्चित गर्न लक्षित रहेको बताए ।

Advertisement

उनले थपे, अहिले संविधान विहीनताको अवस्था आउन नदिनु आवश्यक छ र नेपाल बारले संविधानभन्दा बाहिर गएर कुनै निकास खोज्न नहुने स्पष्ट पार्नुपर्छ । संविधानसभाबाट बनाइएको संविधानलाई डिसपोज गर्दा विकराल अवस्था आउन सक्ने उनले चेतावनी दिए ।

सरकार निर्माणका लागि संविधानको धारा ७३(३) अनुसार नयाँ सरकार गठन गर्न नसक्ने अवस्था भएमा संसद्को सदस्यभित्रबाटै प्रधानमन्त्री चयन गर्नुपर्ने उनले सुझाव दिए ।

कानुन व्यवसायी सुरेन्द्रकुमार महतोले भने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली कायम रहनुपर्ने र वर्तमान अवस्था विकराल तथा असामान्य रहेको स्पष्ट पारे । उनले संविधानअनुसार सरकार बनाउने हो भने शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया