जेनजीका माग सम्बोधन गर्न राष्ट्रपतिलाई पत्रकार महासंघको अपिल

समाधान संवाददाता २०८२ भदौ २६ गते १६:११

काठमाडौं ।
नेपाल पत्रकार महासंघले जेनजी पुस्ताका माग गम्भीरतापूर्वक सम्बोधन गर्नु आवश्यक भएको ठहर गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माले बिहीबार अपिल जारी गर्दै युवाहरूको भ्रष्टाचार र बेथितिविरुद्धको आवाज दबाउन गरिएको सरकारी दमन निन्दनीय भएको उल्लेख गरेकी छन् ।

महासङ्घले आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी तथा भौतिक संरचनामा भएको क्षति प्रति दुःख व्यक्त गर्दै यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नुपर्ने चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले वर्तमान सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधान आवश्यक भएको बताउँदै राष्ट्रपतिले संवैधानिक र राजनीतिक निकास निकाल्न पहल गर्नुपर्ने भनाइ राखेको छ । अपिलमा भनिएको छ, ‘मूलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्छ ।’

Advertisement

नयाँ सरकार गठनको पहल राष्ट्रपतिबाट हुनुपर्नेमा महासङ्घको जोड रहेको छ । अपिलमा भनिएको छ, ‘राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा सहजीकरण सुरक्षा निकायले मात्र गर्ने हो, अन्य सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ । पत्रकार महासङ्घ लगायत ६ वटा पेसागत सञ्जाल सहजीकरणका लागि तयार छन् ।’

महासङ्घले पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले खेलेको भूमिकालाई सराहनीय भनेको छ । अपिलमा उल्लेख छ, ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन । तर शान्ति सुरक्षा कायम गर्न सेनाको भूमिका सराहनीय रहेको छ ।’

Advertisement

तपाईको प्रतिक्रिया