राष्ट्रपति पौडेल शीतल निवासमै, जेनजी प्रतिनिधि, संविधानविद र दलका नेताहरुसँग परामर्श, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी

पोखरा । पछिल्लो राजनीतिक संकटलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा संविधानविदहरुसँग लामो छलफल गरेका छन् । सोही परामर्शपछि आन्दोलनरत जेन–जी पुस्ताको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।त्यसअघि राष्ट्रपतिले सभामुख देवराज घिमिरेसँग समेत छलफल गरेका थिए ।
उनले पालैपालो जेनजी प्रतिनिधिसँग पनि कुराकानी गरेका थिए ।
संविधान कायमै राखेर विशेष अधिकार प्रयोग गरी राष्ट्रपतिले अन्तरिम सरकार बनाउने र त्यसका बारेमा सभामुखले सदनलाई जानकारी गराउने विषयमा छलफल भएको स्रोतको दाबी छ ।
राष्ट्रपतिले बिहीबार नै नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए ।
बिहीबार दिउँसो नै प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । उनले मुलुकको वर्तमान परिस्थितिका बारेमा ब्रिफिङ गरेका थिए ।
संविधानविदहरुले अन्तरिम सरकारमा नयाँ पुस्ताको प्रतिनिधित्व हुनैपर्ने सुझाब दिएका थिए । उनीहरु मध्ये एक जनाले भने, ‘आन्दोलनकारी युवाहरुको भावनाको कदर गर्दै दलबाहिरको स्वतन्त्र व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने सुझाव हामीले राष्ट्रपतिलाई दिएका छौं । भोलि बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने आशा गरेको छु ।’
शीतल निवासमा पुगेका संविधानविदहरुमा भीमार्जुन आचार्य, विपीन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, सूर्य ढुंगेल र ललितबहादुर बस्नेतलगायत रहेका थिए । उनीहरु केही घण्टासम्मको छलफलपछि साँझ ८ बजेपछि मात्र बाहिरिएका थिए ।
शीतल निवासमाथि भएको आगलागीबारे उठेको प्रश्नमा एक संविधानविदले भने, ‘शीतल निवासको अगाडिको भाग मात्र जलेको रहेछ, तर नयाँ भवनलाई नेपाली सेनाले जोगाएको रहेछ । हामीले त्यहीँ राष्ट्रपति पौडेलसँग भेट गरेका हौं । उहाँ सुरक्षित हुनुहुन्छ, सेनाको नियन्त्रण भन्ने हल्ला मात्रै हो ।’
दलका शीर्ष नेताहरुलाई अस्वीकार गरिरहेको जेन–जी पुस्ताको मागलाई ध्यानमा राख्दै राष्ट्रपतिले दलबाहिरकै व्यक्तिलाई नेतृत्व दिने तयारी गरेको दाबी संविधानविदहरुको छ । उनीहरुले अहिलेको परिस्थितिमा कार्की प्रधानमन्त्री हुने सम्भावना उच्च रहेको बताएका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री चयन भएमा नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया