पोखरामा आज दिनभर निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला गर्न प्रतिबन्ध

समाधान संवाददाता २०८२ भदौ २७ गते १०:१३

पोखरा । कास्की जिल्लामा हालका घटनाक्रम र हुनसक्ने विरोध प्रदर्शन, तोडफोड तथा हुलदंगालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २०८२ भाद्र २७ गते बिहान १०:०० बजे देखि साँझ ०५:०० बजेसम्म पोखरा महानगरपालिकाका वडा नं १ देखि वडा नं ३.३ सम्मका सम्पूर्ण क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेकी छन् । यो निषेधाज्ञा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार लागू गरिएको हो ।

निषेधाज्ञा अवधिभर ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, सभा वा कुनै प्रकारको विरोध कार्यक्रम सञ्चालन गर्न अनुमति नहुनेछ ।

त्यसैगरी, अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, ग्याँस, इन्धन, दुध, तरकारी, पानी, संचार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने सवारी साधन भने सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

Advertisement

विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो सकल परिचयपत्र लिएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुहरूले आफ्नो उडान टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

आवश्यक सहजताको लागि सम्बन्धित सुरक्षा निकायहरूसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । सम्पर्क नम्बरहरू यसप्रकार छन् :

Advertisement
  • नेपाली सेना : ०६१-५८११६०, ९७६३२४६०२२ (ड्यूटी अफिसर)
  • नेपाल प्रहरी : ९८५६०३९५९९ (ड्यूटी अफिसर)
  • सशस्त्र प्रहरी बल नेपाल : ०६१-५४४०८८, ९८५१२७२०८० (ड्यूटी अफिसर)

तपाईको प्रतिक्रिया