जेनजीको मागअनुसार सरकार बनेपछि काम गर्न कर्मचारी प्रशासन तयार : मुख्यसचिव अर्याल

समाधान संवाददाता २०८२ भदौ २७ गते १३:२१

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले युवाको मागअनुसार गठन हुने सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकका अत्यावश्यक सेवाहरू अविच्छिन्न रूपमा सञ्चालन भइरहेको र नयाँ सरकारसँग तालमेल गरेर अघि बढ्ने तयारी भएको स्पष्ट पारे ।

अर्यालले भने, ‘हामी के चाहन्छौं भने छिटोभन्दा छिटो युवाहरूले उठाइराखेका माग सम्बोधन हुने गरी सरकार बनोस् । त्यो सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ ।’

उनका अनुसार राहदानीदेखि वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको छ । खानेपानी, विद्युत, टेलिफोनलगायत अत्यावश्यक सेवाको निरन्तरताका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।

Advertisement

‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारीका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौं । अत्यावश्यक सेवाहरू निरन्तर दिनुपर्ने भएकाले तत्तत् निकायलाई निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘मन्त्रालयका सचिवहरूसँग भर्चुअल छलफल गरी सोहीअनुसार निर्देशन दिइसकेका छौं । सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालेको छ र सुरक्षास्थिति सामान्यतर्फ उन्मुख छ ।’

मुख्यसचिव अर्यालले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको जनाउँदै पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने जानकारी पनि दिए । उनका अनुसार सेवाप्रवाह अब प्रभावित नभई अघि बढ्नेछ ।

Advertisement

‘सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल गर्यौं । कति क्षति भएको छ भन्ने आँकलन भइसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । अभिलेखको क्षति कल्पनासमेत गर्न सकिँदैन, पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक आँकलन हुन्छ,’ उनले बताए ।

सिंहदरबारमै नयाँ सरकार गठन हुने सम्भावना रहेको उल्लेख गर्दै अर्यालले त्यसका लागि आवश्यक व्यवस्थापन गर्न पहल भइरहेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया