सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त अपिल : ‘संविधानभित्रै समाधान खोजौं, लोकतन्त्रलाई अझ उन्नत बनाऔं’

समाधान संवाददाता २०८२ भदौ २७ गते १३:३०

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले मुलुकमा उत्पन्न राजनीतिक जटिलताबाट बाहिर निस्कन संविधानको बाटोमै निर्भर रहनुपर्ने बताएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यमान विषम परिस्थितिमा संविधानको सर्वोच्चतामाथि आस्था राख्दै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिनुपर्नेमा हामी दृढ छौं ।”

उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा र प्रक्रियाभित्र रहेर संकट समाधान गर्ने पहल गरिरहेकोमा विश्वास व्यक्त गरेका छन् । तर, संवैधानिक बाटो छोडी अन्य कुनै अप्राकृतिक अभ्यासमा जानु विधिको शासन र संविधानवादका लागि मात्र होइन, लोकतन्त्रकै भविष्यका लागि खतरनाक हुने चेतावनी दिएका छन् ।

Advertisement

संयुक्त विज्ञप्तिमा हाल आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्र निर्माणमा सबै राजनीतिक दल, संवैधानिक अंग, राज्यका निकाय र नागरिक समाज एकजुट हुनुपर्ने पनि उल्लेख छ ।

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले नयाँ पुस्ताले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै भनेका छन्, “लोकतान्त्रिक मूल्य र मान्यताभित्र बसेर अघि बढे मात्रै जनतामा विश्वास जगाउन सकिन्छ । आन्दोलनले देखाएको दिशानिर्देशनलाई संविधानले दिएको मार्गदर्शनसहित सम्बोधन गर्नु आजको आवश्यकता हो ।”

Advertisement

दुवै शीर्ष संसदीय पदाधिकारीले लोकतन्त्रलाई अझ बलियो बनाउने जिम्मेवारी अहिलेको पुस्ताले मात्र होइन, सम्पूर्ण राजनीतिक नेतृत्वले लिनुपर्नेमा जोड दिएका छन् । साथै, आगामी दिनमा हुने निर्णय र कदम संविधानको दायराभित्रै रहनुपर्ने पुनः स्मरण गराएका छन् ।

तपाईको प्रतिक्रिया