जेनजी आन्दोलनले ‘कोर्स करेक्सन’को अवसर दिएको अर्थशास्त्रीहरूको निष्कर्ष

काठमाडौं । अर्थतन्त्रका विज्ञहरूले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा केही क्षति बेहोरे पनि समग्र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुधार गर्ने अवसर प्राप्त भएको बताएका छन् । उनीहरूको भनाइमा, भ्रष्टाचार, बेथिति र आसेपासे पुँजीवादविरुद्ध उठेको यो आन्दोलनले नेपाललाई ‘कोर्स करेक्सन’ गर्ने मौका दिएको छ र यसलाई सदुपयोग गर्न सके नयाँ पुस्ताको आशा र निजी क्षेत्रको विश्वास दुवैलाई संस्थागत गर्न सकिन्छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा बोल्दै अर्थतन्त्रका जानकारहरूले आन्दोलनलाई केवल नोक्सानीका दृष्टिले मात्र नभई सुधारका सम्भावना स्वरूप हेर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले नयाँ पुस्ताको नेतृत्वमा मुलुकभर भ्रष्टाचारविरुद्ध मानिसहरू एकसाथ जाग्नु ठूलो उपलब्धि भएको बताए । उनका अनुसार, संविधान संशोधनजस्ता विषयहरू आन्दोलनसँग पछि जोडिए पनि यसको मूल आधार कुशासनविरुद्धको संघर्ष हो ।
“यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनर्निर्माण, नयाँ लगानीका अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने छ,” खनालले भने ।
खनालले अहिलेको संकट प्राकृतिक विपत्ति वा महामारीजस्तो नभई आन्तरिक रूपमा मानवसृजित भएकाले दातृ निकायबाट ठूलो सहयोग अपेक्षा गर्न कठिन हुने बताए । तर, २०३६ साल र माओवादी द्वन्द्वको समयमा जस्तो भौतिक संरचना तहसनहस नभएकाले नेपाल छिट्टै पुनः उठ्न सक्नेमा आफू आशावादी रहेको उल्लेख गरे ।
उनका अनुसार, रेमिट्यान्स, कृषि र पर्यटन जस्ता प्रमुख क्षेत्रहरूमा ठूलो क्षति नभएकाले अर्थतन्त्र छिट्टै रिकभर गर्ने सम्भावना छ । तर, यस प्रक्रियामा सञ्चारमाध्यम संयमित र तथ्यपूर्ण हुनुपर्नेमा उनले विशेष जोड दिए ।
“हिल्टन होटेल प्रकरण जस्ता घटना दोहोरिन दिनु हुँदैन, भाटभटेनीजस्तो घटनामा राजनीतिक प्रतिशोधको आभास हुनु अर्थतन्त्रका लागि राम्रो होइन,” उनले भने । सञ्चारमाध्यमले सत्यतथ्य सूचनालाई जिम्मेवार ढङ्गले प्रवाह गर्न सके मात्रै बलियो अर्थतन्त्र र समाज निर्माण सम्भव हुने उनको भनाइ थियो ।
खनालले समावेशिता, समान वित्तीय पहुँच र समान अवसर कायम गर्न सके मात्रै दीर्घकालीन रूपमा स्थायी अर्थतन्त्र बनाउन सकिने निष्कर्ष पनि प्रस्तुत गरे ।
अर्थशास्त्री डा. समर खतिवडाले जेनजी प्रदर्शनलाई नेपालका लागि ‘कोर्स करेक्सन’को अवसरका रूपमा व्याख्या गरे । उनले यस आन्दोलनले क्रोनी क्यापिटलिजम (आसेपासे पुँजीवाद) भत्काउने र सुशासनयुक्त समाज निर्माणतर्फको संकेत दिएको बताए ।
“जेनजी प्रदर्शनले नेपाललाई पारदर्शी र सुशासनमैत्री प्रणालीतर्फ धकेलेको छ । यसले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट बाहिर ल्याउन सहयोग गर्ने अवसर पनि प्रदान गरेको छ,” खतिवडाले भने ।
उनले पर्यटन क्षेत्र अझै सम्भावना बोकेको बताए । “केही पूर्वाधारमा क्षति पुगे पनि नेपालको पर्यटन क्षेत्र फेरि उठ्ने क्षमता राख्छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको अव्यवस्थाका कारण केही पर्यटक निरुत्साहित हुने खतरा भने छ । यसलाई सच्याएर अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश दिनुपर्छ,” उनले सुझाव दिए ।
उनको भनाइमा, प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मा पनि तत्काल ठूलो असर पर्ने देखिँदैन ।
“हाल नेपालमा एफडीआईको हिस्सा कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)को मात्र ०.३ प्रतिशत छ, जुन आफैँमा सानो आकार हो । यसलाई अब बढाएर तीन प्रतिशतसम्म पुर्याउने प्रयास गर्न सकिन्छ,” उनले भने ।
अन्तरक्रियामा सहभागी विज्ञहरूको साझा निष्कर्ष थियो– जेनजी आन्दोलनले देखाएको जनआक्रोशलाई असफलताका रूपमा होइन, मुलुकलाई सुधार्ने अवसरका रूपमा लिनुपर्छ । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, पारदर्शिता, समावेशिता र सुशासनलाई संस्थागत गर्ने हो भने नेपाल अर्थतन्त्रिक रूपमा छिट्टै उभिन सक्ने उनीहरूको धारणा थियो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया