कास्की कारागारमा टुटेको बिजुली जडानपछि कैदीबन्दी फिर्ता गरिने

समाधान संवाददाता २०८२ भदौ २७ गते १४:३५
फाइल तस्बिर

पोखरा ।

Advertisement

भदौ २४ गतेको तोडफोडपछि कास्की कारागारमा बिजुली छैन । कारागारमा कैदी पनि छैनन् । ७ सयभन्दा बढी कैदी कारागारबाहिर गएका छन् । कारागारमा थ्रीफेजको बिजुली जडान गरेपछि मात्रै कैदीबन्दी फिर्ता प्रक्रिया थालिने कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाएकी छन् । उनकै भनाइमा कतिपय कैदीबन्दीहरु भने कारागार प्रशासनको सम्पर्कमै छन् । कारागार कैदीबन्दी राख्न तयार भएपछि उनीहरुलाई डाकिने छ ।

ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् ।

Advertisement

सम्पर्क हुन नआए कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनी बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ। ‘फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइसाथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुन:स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्छ’, कारागार प्रशासनले भनेको छ, ‘फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन स्मरण गराइन्छ।’

नख्खु कारागारका सबै कैदीबन्दी भागेका छन्। अहिलेसम्म एक जना सम्पर्कमा आएको प्रशासनले जनाएको छ। सुन्धारा र नख्खुबाट मात्रै ४ हजार ८२३ जना कैदी भागेका थिए।

Advertisement

जेन-जी आन्दोलन अनियन्त्रित हुँदा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाहिर निस्किएपछि देशव्यापी जेल तोडेर भाग्ने क्रम सुरु भएको थियो। मंगलबार लामिछाने नख्खु कारागारबाट निस्किएका थिए।

तपाईको प्रतिक्रिया