वन मन्त्रालयका ५ गाडी र ८ मोटरसाइकल खरानी

समाधान संवाददाता २०८२ भदौ ३० गते ११:१५

पोखरा ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयमा रहेका पाँच वटा सरकारी गाडी पूरै जलेर नष्ट भएका छन् भने एउटा गाडीमा तोडफोड भए पनि आगजनी भएको छैन । साथै आठ सरकारी मोटरसाइकल र चार स्कुटर जलेर खरानी भएका छन् ।


गत मंगलबार जेनजी समूहले गरेको आन्दोलनका क्रममा मन्त्रालयमा भएको आगजनीपछि त्यहाँका संरचना र सम्पत्तिमा क्षति पुगेको छ । मन्त्रालयका ल्यापटप, प्रिन्टर, फ्रिज, फेन लगायतका सामग्री चोरिए भएको मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए ।


स्टोर शाखामा तोडफोड गरि सामान चोरी गरिएको उनले बताए । मन्त्रीको च्याम्बर तथा दराजसमेत तोडफोड गरिएको छ । ताला तोड्न नसकेका कोठामा भने झ्यालका सिसा फुटाइएको छ । उनका अनुसार मन्त्रालय परिसरमा रहेका कार्यालय कक्ष, फर्निचर, किचन, सुरक्षा गार्ड बस्ने कोठादेखि मन्त्रीको च्याम्बरसम्म तोडफोड र आगलागी भएको छ । केही उपकरण जलेर नष्ट भएका छन्।

Advertisement


आगजनीका कारण मन्त्रालयका लेखा शाखा र दर्ता–चलानी शाखा पूर्ण रुपमा जलेको काफ्लेले जानकारी दिए । केहि कोठाहरु आंशिक क्षतिग्रस्त भएका छन् । २०७८ सालदेखि २०८२ भदौ २४ गतेसम्मका सम्पूर्ण स्रेष्ता, फाइल र अभिलेख नष्ट भएको उनले बताए ।


किचनमा रहेका भाँडाकुडा समेत चोरी गरी लगिएको र केही सामान फेरि आइतबार बिहान ल्याएर राखिएको समेत देखिएको मन्त्रालयका कर्मचारीहरूले बताएका छन् ।

Advertisement


प्रहरीले दुई दिनसम्म मुचुल्का उठाएपछि कर्मचारी शनिबारदेखि मन्त्रालयको सरसफाई जुटेका छन् । सचिव काफ्लेले क्षतिको पूर्ण विवरण संकलन भइरहेको उल्लेख गर्दै प्रारम्भिक मूल्यांकनमै कार्यालयका संरचना, अभिलेख, सवारीसाधन र फर्निचरमा ठूलो क्षति भएको बताए ।

तपाईको प्रतिक्रिया