विद्यालय पोशाकमा टिकटक नबनाउन मन्त्रालयको निर्देशन

समाधान संवाददाता २०८२ भदौ ३० गते १९:१९

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका शिक्षक र कर्मचारीलाई तोकिएको पोशाक र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको छ ।
मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा महाशाखाले भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्न नहुने जानकारी दिएको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत हेलो सरकारमा आएको गुनासोमा शिक्षक र कर्मचारीहरूले विद्यालय समयमा पोशाकै लगाएर टिकटक भिडियो बनाउने र त्यस्ता गतिविधिले बालबालिकाको मनोविज्ञानमा प्रत्यक्ष असर पार्ने उल्लेख गरिएको छ ।
सोही आधारमा मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई तोकिएको पोशाकमा वा कार्यालय समयमै टिकटक बनाइ सामाजिक सञ्जालमा राख्ने काम नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयको पत्र प्राप्त गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पालिका कार्यालयलाई पत्राचार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया