पोखरा चेम्बरको शान्ति र्‍याली

समाधान संवाददाता २०८२ भदौ ३१ गते १२:१२

पोखरा ।
उद्योगी, व्यवसायीका लागि शान्ति र सुरक्षाको वातावरण निर्माण गर्न माग राख्दै पोखरा चेम्बर अफ कमर्स कास्कीले सोमबार शान्तिपूर्ण मौन र्‍याली निकालेको छ । पोखरा ५ पस्र्याङ स्थित चेम्बरको सचिवालयबाट सुरु भएको र्‍याली मालेपाटन हुँदै रोकिमीमा पुगेर समापन भएको थियो ।

Advertisement


जेनजी आन्दोलनको क्रममा जनधन तथा व्यवसयिक प्रतिष्ठानमा ठूलो क्षति भएको सन्दर्भमा व्यवसायिक सुरक्षाको माग राखेर ¥याली निकालेको पोखरा चेम्बरका अध्यक्ष उमराज बास्तोलाले जानकारी दिए । उद्योगी, व्यवसायीले जहिले पनि शान्ति र समृद्धि चाहेको उल्लेख गर्दै उनले सधैं सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको स्मरण गराए ।


‘आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीको कारण उद्योगी, व्यवसायी असुरक्षित भएका छन्,’ उनले भने, ‘मुलुकमा शान्ति, सुरक्षा बहाली गरी निजी क्षेत्रका लागि व्यवसायिक वातावरण बनाउन अहिलेको सरकारले ध्यान दिन आवश्यक छ ।’ उनले निजी क्षेत्रले शान्तिपूर्ण वातावरणमा उद्योग व्यवसाय गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।

Advertisement


शान्ति, सुरक्षा विना उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने जानकारी दिँदै उनले व्यावसायिक वातावरण बनाएर उद्योगी, व्यवसायीको मनोवल उकास्न सरकारको ध्यानाकर्षण गराए । पोखरा चेम्बर अफ कमर्स कास्कीका निवर्तमान अध्यक्ष यमनाथ पौडेलले नेपालको अहिलेको असामान्य परिस्थितिमा धैर्य नगुमाउन र संयमित हुन उद्योगी/व्यवसायीलाई आग्रह गरे । उनले आन्दोलनको मर्म र भावना विपरीत भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नहरु पहिचान गरी कारवाहीको माग गरे ।


संस्थाका महासचिव गोकर्ण अधिकारीले आन्दोलनको क्रममा निजी क्षेत्रमा भएको धनजनको क्षतिको उचित मूल्यांकन गरी व्यवसायीलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह गरे । वर्तमान असहज अवस्थामा व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक हुन उद्योगी, व्यवसायीलाई आग्रह गर्दै महासचिव अधिकारीले दसैं लगायतका चाडबाड नजिकिएको सन्दर्भमा आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीलाई अनुरोध गरे ।

Advertisement

तपाईको प्रतिक्रिया