
पोखरा ।
त्यो दिन पनि अमृत गुरुङ ड्युटीमै खटिएका थिए । शरीर रुघाखोकीले थलिएको थियो, तर उनको आत्मबल बलियो थियो । राती २ घण्टा मात्र सुतेर उनी रातभरी निरन्तर ड्युटीमै रहे । भदौ २४ गते, उनी कार्यरत प्रहरी प्रभाग कोटेश्वरमा परिस्थिति अचानक तनावपूर्ण बन्यो । जेनजी आन्दोलनकारीको समूह एकाएक आक्रमणकारी रुपमा अघि बढ्यो । आन्दोलन हिंसात्मक भइसकेको थियो । प्रहरीमाथि ढुंगामुढा सुरु भयो, भीड नियन्त्रण बाहिर गइसकेको थियो ।
प्रहरीहरुले शान्त गर्न खोजे, तर भीड अझ आक्रामक बन्यो । प्रहरी विभागभित्र छिरेका आन्दोलनकारीले हातहतियार खोसेर उल्टै प्रहरीमाथि प्रहार गर्न थाले । प्रहरी भीडलाई रोक्न सकेन । भीडको झुण्डभित्र प्रहरीहरु तितरबितर भए । आन्दोनलकारीले प्रहरी कार्यालयमा आगजनी गरे । केही प्रहरीलाई कुटपिट गर्दै सडकसम्म घिसारेर ल्याए । चर्का नारा, धुँवा र भीडबीच प्रहरी निरही बन्यो ।
त्यसपछि अमृतको सम्पर्क टुट्यो । साथीहरूले उनलाई खोज्न थाले, तर केही थाहा भएन । परिवारले फोन गरिरहे, तर मोबाइल उठेन । अमृतकी श्रीमती कान्ति गुरुङको मन दिनभरी बेचैन थियो । प्रहरी सेवामा रहेका उनका श्रीमान अमृत गुरुङको फोन आउँछ कि भनेर मोबाइलतिर नजर लगाइरहिन् । तर प्रतिक्षामा पुरा भएन । छटपटिमा रातभर बित्यो तर खबर आएन । एकपल पनि उनी निदाउन सकिनन् ।
भोलिपल्ट २५ गते फोनले खबर सुनायो, अमृत अब कहिल्यै फर्कनेछैनन् । कान्तिको संसार भत्कियो । ‘अघिल्लो रात १० बजेतिर फोनमा कुरा भएको थियो । १२ बजे उठर डिउटीमा जानुछ भन्नुभएको थियो । अर्काे दिन बिहान ६ बजे फोन गरेर अफिसमै रहेको र आन्दोलनमा जान पर्ने भएमा जाने भन्नुभएको थियो,’ कान्तिले भनिन् ।
सेवामा रहेकै समयमा रुपा गाउँपालिका ५ का ३१ वर्षीय प्रहरी सहायक हवल्दार गुरुङ प्रदर्शनकारीको आक्रमणमा परे । उनी भाग्न खोज्दा पनि जोगिएनन् । कुटपिटबाट सख्त घाइते भएका उनलाई दिउँसो १ः३० मा बीएन्डबी अस्पताल पुर्याइएको थियो । अस्पतालले ४ः४५ मा मृत घोषणा गर्यो । उनको शव २७ गते मा घर आइपुग्यो र २८ गते उनको अन्त्यष्टि गरिएको हो ।
अमृतले न्याय पाउनैपर्छ, अपराधीलाई कडा कारबाहि गरिनुपर्छ । उनको बलिदान र परिवारले भोगेको पीडाको सहि मूल्यांकन हुनुपर्छ ।
उनको अन्तिम पटक अमृतसँग कुरा बिहान साढे १० बजे भएको थियो । त्यसपछि उनी सम्पर्कविहिन भए । सोसल मिडियामा आन्लोलनकारीले जताततै आगजनी गरेको, प्रहरी कार्यालय जलाएको, प्रहरीलाई कुटेको समाचारले मनमा त्रास थपेको उनले बताइन् । ४ बजेदेखि अमृतलाई फोन गर्न थालिन् तर फोन उठेन, उनको मनमा चिसो पस्यो ।
अमृतका सहकर्मीसाथी तथा प्रहरी कार्यालयमा लगातार फोन गरेर अमृतको अवस्थाको बारेमा बुझिरहिन् । कसैले पनि प्रस्ट जानकारी दिन नसकेको उनको भनाइ छ । २५ गते बिहान प्रहरी प्रभाग कोटेश्वरका इन्चार्जसँग कुरा भयो उनले ३/४ जना प्रहरी सम्पर्कमा नभएको बताएको उनले भनिन् । हराएकालाई खोजीरहेका बताएका थिए ।
‘रातभरी फोनको प्रतिक्षामा बसें । कतै सबै ठिक छ भन्ने खबर आउँछ कि भनेर । कतै लुक्नु भएको होला सुरक्षित हुनुहोला भन्ने मनमा लागिरह्यो । इन्चार्जसँग दिउँसो ३ बजेतिर कुरा हुँदा अहिले बोल्न मिल्दैन भन्नुभएको थियो रे । उहाँ (अमृत)को सबै सामान जलेको छ रे । सामान पाउने आस छ जुन अमृतको चिनोको रुपमा रहनेछ ।’ कान्तिले भनिन् ।
पारिवारिक जिम्मेवारीका कारण गुरुङले प्रहरी सेवाको जागिर रोजेका थिए । गुरुङ २०७० असोज १५ गतेदेखि नेपाल प्रहरीको सेवामा थिए । पाल्पा, मुगु, सुर्खेत हुँदै दुई वर्षदेखि काठमाडौंमा कार्यरत थिए । घरमा बाजे र बुबा छन् । ९ महिना अघिमात्र ब्रेन ह्यामरेजका कारण आमाको मृत्यु भइसकेको छ भने, दिदीबहिनीको बिहे भइसकेको छ । घरको आधारस्तम्भ बनेर अमृतले परिवारको भार काँधमा बोकेर हिँडेका थिए ।
२०७७ सालमा कान्ति गुरुङसँग उनको प्रेम विवाह भयो । प्रेमलाई वैवाहिक बन्धनमा बाँध्दा दुवै जनाले सुनौलो भविष्यको सपनामा सजाएका थिए । उनीहरुको दुइ वर्ष छोरा छ । कान्तिले भनिन, ‘छोराले ‘आमा’, ‘बाबा’ भनेर बोली फुटाउँदैछ । उहाँले छोरालाई धेरै माया गर्नुहुन्थ्यो । तर परिवारसँग बिताएका पल निकै थोरै छन् । ड्युटी, जिम्मेवारी र परिवारबीच दौडिरहेको अमृतको जिन्दगी कहिल्यै सजिलो थिएन ।’
कान्तिको आग्रह छ, ‘न्याय पाउनैपर्छ, अपराधीलाई कडा कारबाहि गरिनुपर्छ ।’ अमृतको बलिदानको र परिवारले भोगेको पीडाको सहि मूल्यांकन हुनुपर्ने उनको भनाइ छ । अमृतको असामयिक निधनले उनको जीवनमा गहिरो शून्यता ल्याएको छ । तर पनि श्रीमानले आफ्नो जीवन समाज र कर्तव्यका लागि बलिदान गरेकोप्रति उनलाई गर्व छ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया