आगजनी र तोडफोड गरिएको गण्डकी विश्वविद्यालयदेखि मन्त्री क्वाटरमा मुख्यमन्त्री पाण्डेको अनुगमन

समाधान संवाददाता २०८२ असोज १ गते १६:५७

पोखरा ।
भदौ २४ गते भएको तोडफोड र आगजनीबाट गण्डकी प्रदेशभित्रका कयौँ संरचना ध्वस्त बनेका छन् । क्षति पुगेका सरकारी निकायबाट अधिकांश सामग्री चोरी भएको देखिएको छ । भौतिक संरचना, सवारीसाधन, फर्निचर र यन्त्र उपकरणमा मात्रै पनि प्रदेश सरकारले अरबौँको क्षति ब्यहोर्नुपरेको छ ।


प्रदेश सरकार मातहतका मन्त्रालय, निवास, गण्डकी विश्वविद्यालय, लोक सेवा आयोग, प्रदेश प्रमुखको कार्यालय, सभामुख र उपसभामुखको निवास, मन्त्रीहरूको आवासलगायत स्थानहरूमा पुगेको क्षतिपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार फेरि क्षतिग्रस्त संरचनाको प्रत्यक्ष अवलोकन गरेका छन् ।

Advertisement


अवलोकनका क्रममा मुख्यमन्त्री पाण्डेले कार्यालय प्रमुखहरूलाई सेवा प्रवाह गर्न सक्ने अवस्थासम्म कार्यालयलाई तयार पार्न निर्देशन दिएका छन् । उनले यसअघि मर्ज तथा कर्मचारी दरबन्दी कटौतीमार्फत मितव्ययी बनेको गण्डकी प्रदेशले खर्च कटौतीलाई अझ प्राथमिकता दिँदै बजेट कार्यान्वयन गर्ने स्पष्ट गर्दै सोही अनुसार योजना बनाउन मन्त्रालयका सचिव, निकाय तथा कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।


प्रदेश सरकार मातहतका अधिकांश मन्त्रालयले सेवा प्रवाह र नियमित कामका लागि बैकल्पिक व्यवस्था गरिसकेका छन् । ध्वस्त संरचनाको पुनःनिर्माण क्रमशः अघि बढ्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यो कठिन घडीमा सबैको साथ, सहयोग र सहकार्य आवश्यक पर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया