अरु कार्यालयले खरानी टक्टक्याए, प्रदेश सभा खण्डहरै
सभामुखदेखि प्रदेश सांसद, जो जान्छन्, भक्कान्छिन्

पोखरा ।
जलेर खण्डहरु भएको प्रदेश सभा भवन देखेपछि गण्डकी प्रदेश सभा सदस्य सुनीता थापाले लेखिन्, ‘आज गण्डकी प्रदेश सभा सचिवालयको जलेर खरानी बनेको भवनभित्र उभिँदा मन गह्रौं भयो । त्यो ढुंगामाटोको संरचना मात्र थिएन, त्यो हाम्रो पुस्ताले भोलि अँगाल्नुपर्ने विश्वास थियो । त्यहाँ हाम्रो कर, पसिना, श्रम र सपना मिसिएको थियो ।’
घटनाको तेस्रो दिन नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने र सचेतक प्रकाश बराल सचिवालय परिसर पुगे । एकले अर्काको मुखमा हेरे, बोल्न सकेनन्, जनप्रतिनिधिका हैसियतामा नागरिकका आवाज बुलन्द गर्ने त्यो प्रदेश सभा दसकौंसम्म मानिसले छाडेको खण्डहरु भइसककेको थियो । शिखर शैलीमा बनाइएको प्रदेश सभाको मुख्य भवनको दृश्य सबैभन्दा हृदय बिदारक थियो ।
जहाँ भवनको गाह्रोमा तुर्लुंग झुन्डिएका काठका टुंक्रा । टिनका पाता । भुइँभरि छरपरस्ट सिसा अनि छानाका ढुंगाका टुक्रा । ढुंगाले छाएको उक्त भवनमा पानी चुहिन थालेपछि पुरानै छानोपानी जस्तापाता राखिएको थियो । न्यौपानेले भने, ‘जनताकै करबाट बनेको सरकारी संरचना युवाको आन्दोलनका नाममा खरानी भएको देख्दा म त भक्कानिएँ, के गरौं र कसो गरौं भयो ।’ जेनजीले उठाएका सवालमा सतप्रतिशत सहमति भए पनि आन्दोलनका नाममा भएको घुसपैठ र विध्वंश भने कसैका लागि स्वीकार्य नहुेन उनको भनाइ थियो ।
प्रारम्भिक विवरण अनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित १५ वटा कार्यालयमा आगजनी तथा तोडफोडबाट क्षति भएको छ । तीमध्ये सबैभन्दा बढी क्षति भएको ठाउँ हो, प्रदेश सभा सचिवालय । जुन उठ्नै नसक्ने गरी ढलेको छ । प्रदेश सभाको मुख्य भवन, सचिवालय, कार्यालयका साथै विषयगत समिति र संसदीय दलका कुनै पनि कार्यालय र सामान सग्ला छैनन् । कम्प्युटर, ल्यापटप, क्यामेरा लगायत सामग्री त आगलागीभन्दा अघिनै लुटपाट गरिएको थियो । लैजान बाँकी सामान कति खरानी भए त कति जलेर डल्लो परेर बसेका छन् ।
प्रारम्भिक विवरण अनुसार प्रदेश सभाका ६ वटा गाडी र १२ वटा मोटरसाइकल पूर्णरुपमा जलेका छन् । यसैगरी ३९ वटा डेक्स्टप कम्प्युटर र १९ वटा ल्यापटप ४ वटा डिजिटल क्यामेरा, ५ वटा भिडियो क्यामेरा नष्ट भएका छन् । ३ वटा ठूलो फोटोकपी मेसिन र ३५ वटा प्रिन्टरसहितका फोटोकपी मेसिन, ९ वटा टेलिभिजन स्क्रिन र ४४ वटा एसी लगायत फर्निचर पूरै जलेको जिन्सी शाखा हेर्दै आएका अधिकृत झनकराज अधिकारी बताउँछन् ।
सबैभन्दा महत्वपूर्ण त प्रदेश सभाका कुनै पनि कागजात र रेकर्ड बाँकी छैनन् । कार्यालयका कर्मचारी, प्रदेश सभा सदस्य अरु कसैका साथमा रहेका रेकर्डवाहेक प्रदेश सभाको विगत र वर्तमानका कुनै कागजात सग्ला छैनन् । वेबसाइट र युट्युबमा भने केही रेकर्ड बाँकी छ । पहिलो कार्यकालको पूरै र दोस्रो कार्यकालका भर्बेटियम तयार गरिएको थियो । त्यो पनि जलेर खरानी भएको कम्प्युटर अधिकृत चन्द्रकला बस्नेतले बताइन् ।
अरु सबै कार्यालयहरु सरसफाइ भएर काम थाल्न लाग्दा पनि प्रदेश सभामा भने त्यो सुरसारै गरिएको छैन । प्रदेश सभा मामिला तथा कानुन समितिको कार्यालय रहेको टहरोवाहेक सबै जलेका छन् । ‘जता हेर्यो उतै अलपत्र छ, कहाँबाट सुरु गर्ने भनेर हामी त अलमलमा छौं, अधिकृत टीकाराम आचार्यले भने । भदौ २३ गते नियुक्त भएर सोही दिन काम थालेका प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेल पनि कसरी कहाँबाट काम थाल्ने भन्नेमा अलमलमा छन् ।
जेनजी विद्रोहका बेला दुबईमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सोमबार पोखरा फर्केर मंगलबार क्षतिग्रस्त कार्यालयहरुको अनुगमनमा निस्के । आफू बस्दै आएको सरकारी निवास, अफिस समेत आन्दोलनकारीले लुटपाट र तोडफोडमात्र गरेनन्, आगोसमेत झोसिदिएका थिए । मुख्यमन्त्री कार्यालय अनुगमनपछि उनी प्रदेश सभाको अनुगमनका लागि सुरक्षाकर्मीसहित निस्के । गाडीबाट उत्रेर जसै उनले खरानीको थुप्रोमा टेकेर प्रदेश सभा अवलोकन गरे । आफ्नो कार्यालयबाट प्रदेश सभामा आउँदा उनको अनुहारको चमक हराइसकेको थियो ।
त्यही प्रदेश सभा हो, जहाँ उनले प्रदेश सभा सदस्यको हैसियतमा सपथ लिएका थिए । त्यहींबाट उनी नेपाली कांग्रेसको संसदीय दलको नेता चुनिएका थिए । त्यतिमात्र होइन २ पटकसम्म उनलाई मुख्यमन्त्री चयन पनि त्यही प्रदेश सभाले गरेको थियो । त्यही प्रदेश सभाको भौतिक संरचनाको अवस्थादेखि उनी बोल्न सकेनन् । कुन कोठा र कार्यालय हेर्छन्, त्यही बिजोग छ ।
नागरिकका आवाज बुलन्द पार्ने र उनीहरुकै लागि कानुन बनाउने थलो प्रदेश सभा भवन त झनै बिजोग अवस्थामा छ । प्रदेश सभा अवलोकनका क्रममा न त मुख्यमन्त्री बोल्न सके, न त पत्रकारले नै उनलाई प्रश्न गर्न सके ? पत्रकार, कर्मचारी, प्रदेश सभा सदस्य, सुरक्षाकर्मी सबै मलिन देखिन्थे । बासबस्ने थलो र लत्ताकपडा र रासन समेत जलेका सुरक्षाकर्मीभित्रको त्रास कायमै छ । बजारतिरका सरकारी संरचना जलाइसकेपछि साँझखेर आन्दोलनकारी हातमा पेट्रोलका बोत्तलका साथमा हातहतियारसहित गाडी र मोटरसाइकलमा प्रदेश सभा छिरेका थिए ।
सुरक्षाकर्मीलाई आफ्नौ ज्यान जोगाउन धौ थियो । चालकहरु आफ्नो जिम्मामा रहेका गाडी लुकाउन लागिरहेका थिए । प्रदेश सभा परिसरमै रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवनको अन्डरग्राउन्डमा सभामुख, उपसभामुख र अन्य पदाधिकारीको गाडी राखिएको थियो । आन्दोलनकारीले त्यहीं पनि बाँकी राखेनन् । निर्माणाधीन भवनमा भने ठूलो असर परेको छैन ।
अफिस र सरकारी निवास जलेपछि प्रदेशका सभामुख कृष्णप्रसाद धिताल अहिले साथीभाइका घर डेरामा सहारा लिएर बसेका छन् । दिनको एकपटक प्रदेश सभा पुग्छन्, त्यहाँको खण्डहर देखेर मन अमिलो हुन्छ, अनि फर्किहाल्छन् । अब कसरी अगाडि बढ्ने भन्ने प्रश्नमा उनको उत्तर नै छैन । भन्छन्, ‘जता हेर्यो उतै खण्डहर छ, कसरी अगाडि बढ्ने भन्ने सोच्नै सकेको छैन ।’ मुख्यमन्त्री विदेशबाट फर्किसकेकाले सल्लाह गरेर भावी दिशा तय गरिने उनको भनाइ थियो । ‘एकातिर संरचना र कागजात जलेको अवस्था छ, प्रदेश संरचनामाथि सबैतिर प्रहार भइरहेका बेला, केन्द्रीय राजनीतिले पनि फरक पार्छ होला, अहिले नै यसै गर्ने भन्ने छैन,’ उनले थपे ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली क्षतिग्रस्त कार्यालय देखेर सुरुमा त आफू भावविह्वल भएको बताए । ‘एक्लै थिएँ, सुरुमा निकै गाह्रो भयो, पछि कर्मचारी साथीहरुसँग कुराकानी गरेर आफूले आफैलाई सम्हालें,’ उनले भने । आन्दोलनका नाममा राज्यको सम्पतिमा विध्वंश मच्चाउनु कुनै हालतमा सुहाउँदो नभएको बताए ।
उनले भने, ‘युवाको सेन्टिमेन्टमा खेलेर जुन खालको हर्कत भएको छ, यसले मुलुकलाई गन्तव्यमा पुर्याउँदैन ।’ कसैले भ्रष्टाचार गर्यो, आचरणविपरीत काम गर्यो भने उसलाई कारवाही गर्ने प्रक्रिया हुँदाहुँदै सरकारी संरचनामा रिस पोख्न नहुने उनको भनाइ थियो । आन्दोलनले विध्वंशात्मक रुप लिए पनि जेन जीले उठाएका सवाल संवोधनका लागि राज्य र दलका नेतृत्वहरु जिम्मेबार बन्नुपर्ने प्रमुख सचेतक नेपालीले बताए ।
८ वर्षको अवधिमा प्रदेशसभाका धेरैजसो बैठक नदीपुरकै भवनमा बसेका छन् । २ कार्यकालका प्रदेश सभाका सदस्यको सपथका साथै अरु सबै महत्वपूर्ण गतिविधि पनि त्यहीं भए । कोरोनाका बेला २०७८ सालमा बर्खे अधिवेशन पोखरा सभागृहमा भएको थियो । एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले नीति तथा बजेट पोखरा सभागृहमा चलेको बैठकमा पेस गरेको थियो । पोखरेलले विश्वासको मत पनि त्यहीं नै लिएका थिए ।
गण्डकी प्रदेश सभाले स्थापनाकालदेखि हालसम्म सालबसालीसहित ८६ वटा ऐन बनाएको छ । तीमध्ये ३ वटा त खारेजसमेत भइसकेका छन् ।
४ दसकअघि पञ्चायत प्रशिक्षण केन्द्रको भवनमा बहुदलपछि नगर प्रशिक्षण केन्द्र सञ्चालित थियो । नगर प्रशिक्षणको भवन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४९ साल असोज १ गते उद्घाटन गरेका थिए । बाहिरबाट हेर्दा चिटिक्क देखिए पनि गण्डकी प्रदेश सभाको भवन निकै साँघुरो थियो । सभा सञ्चालनवाहेक पत्रकारका लागि २० र अरु दर्शकका लागि ३० वटा कुर्सीमामा अटेका थिए ।
स्थानीय प्रशिक्षण प्रतिष्ठानको मातहतको जग्गा र भवनको संरक्षणको जिम्मा संघले २०७६ सालमा प्रदेश सरकारलाई दिएको हो । प्रशिक्षण सञ्चालन गर्ने प्रयोजनका लागि संघबाट अनुमति पाएपछि प्रदेश सरकारले त्यसलाई प्रदेश सभा र गण्डकी प्रशिक्षण प्रतिष्ठानका नाममा भाग लगाउने निर्णय गरेको थियो । स्थानीय, बासिन्दाबाट अधिग्रहण गरिएको १ सय १० रोपनी जग्गामध्ये प्रदेश सभाको भागमा ६५ रोपनी परेको छ । प्रदेश सभाको अस्थायी कार्यालयकै पश्चिमतर्फ २५ करोड ३८ लाख रुपैयाँ लागतमा सुविधासम्पन्न प्रदेश सभा भवन बन्दै छ ।
सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदनबमोजिम भवन निर्माण हुँदै छ । श्रेष्ठ एन्ड सन्स/इस्टवेस्ट जेभी काठमाडौँसँग २०८१ माघ १८ गते भवन निर्माणको सम्झौता भएकोमा अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने काम सकिएको छ । भवनको लागत ४५ करोड रहेकामा ३२.४१ प्रतिशत घटेर श्रेष्ठ एन्ड सन्सले ठेक्का पाएको हो ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया