पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन कांग्रेस सहमहामन्त्री परियारको माग

समाधान संवाददाता २०८२ असोज २ गते १५:५१

काठमाडौं, २ असार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी पुनर्गठन गर्न विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्। अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ दिशा दिन यो आवश्यक भएको उनको भनाइ छ।

परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको औँल्याएका छन्। यसका लागि विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सकिने विकल्प उनले सुझाएका छन्।

Advertisement

पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै नेता परियारले नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन नै उपयुक्त बाटो भएको जनाए। ‘पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन हुनुपर्ने जस्ता विविध मागहरु उठेका छन्, मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन बोलाउनु र निर्वाचन गर्नु उपयुक्त हुने देखेको छु,’ उनले भने।

जेन-जी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र भएको छ। केही नेताले सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएका छन्।

Advertisement

कांग्रेस विधानको उक्त दफामा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष महाधिवेशन बोलाउन लिखित माग गरेमा तीन महिनाभित्र बैठक बोलाउनुपर्ने उल्लेख छ।

सहमहामन्त्री परियारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले आक्रमणमा परेका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

लोकतान्त्रिक व्यवस्थामाथि नै खतरा पैदा भएको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले सुझबुझपूर्ण पहलकदमी लिएको भन्दै परियारले आभार व्यक्त गरे।

‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको आधिकारिक धारणा आइ नै सकेको छ। अब यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बसी समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको आगामी रणनीतिबारे आम नेपाली जनता समक्ष औपचारिक धारणा सार्वजनिक गर्न ढिलाइ गर्नुहुँदैन,’ उनले थपे।

उनले आगजनी र तोडफोडका कारण देशले ठूलो क्षति व्यहोरेको बताए। सरकारले राष्ट्रिय विपद्को घोषणा गरी क्षतिग्रस्त संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत देशभरिका सार्वजनिक संरचनाको पुनर्निर्माण अभियान थाल्नुपर्ने परियारको माग छ।

यसका लागि एक राष्ट्रिय विपद् कोष निर्माण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायलाई सहयोगका लागि अपिल गर्न पनि उनले सुझाव दिए।

सहमहामन्त्री परियारले अहिलेको संकटमा विगतमा भूकम्प र कोरोना महामारीमा जस्तै कांग्रेस केन्द्रीय कार्यालय, देशभरिका पार्टीका ध्वस्त भएका संरचना र सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि ‘एक-एक मुठ्ठीदान, नेपाली कांग्रेस राष्ट्र निर्माणको अभियान’ सञ्चालन गर्नुपर्ने बताए।


जीवन परियारको फेसबुक स्टाटस
आदरणीय अग्रज एवं साथीहरू
जय नेपाल !
१. यहि भाद्र २३ र २४ गते नवयुवा (Zen Z) हरुले भ्रष्टाचार विरुद्धको अभियान र सुशासनको माग राखि गरेको देशव्यापी प्रदर्शनका क्रममा आज सम्म प्रहरी सहित झण्डै ७३ जनाले ज्यान गुमाउनु भएको छ । यस दुःखद घडिमा दिवंगत हुनभएकाप्रति पुन: भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । उक्त प्रदर्शनका क्रममा घाईते हुनभएका सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
२. प्रदर्शनका क्रममा घुषपैठ गरी नेपाली कांग्रेसका आदरणीय सभापति श्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा आरजु राणा देउवा माथि भएको सांघातिक हमलाको भ्रत्सना गर्दै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
३. यस विषम परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूको सुझबुझपूर्ण पहलकदमीप्रति आभार प्रकट गर्दछु ।
४. पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको आधिकारिक धारणा आईनै सकेको छ । अव यथाशिघ्र केन्द्रीय कार्यसमितिको बैठक बसी समसामयिक राजनीतिक घटनाक्रमको समिक्षा र पार्टीको आगामी रणनीति बारे आम नेपाली जनता समक्ष ओैपचारिक धारणा सार्वजनिक गर्न ढीलाई गर्नु हुँदैन ।
५. अनायास देशले भोग्नु परेको यस कठिन परिस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूले ढीलाइ नगरिकन “राष्ट्रिय विपदको घोषण” गरी आगजनी र तोडफोड भएका संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत देशै भरिका सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य प्रारम्भ गर्नु पर्दछ । साथै एक राष्ट्रिय विपद कोष निर्माण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायलाई सहयोगको लागि अपिल गर्न आग्रह गर्दछु ।
६. नेपाली कांग्रेस पार्टीले यो संकटको अवस्थामा विगतमा भुकम्प र कोरोना महामारीमा खेलेको भूमिका जस्तै पार्टी केन्द्रीय कार्यालय, देशै भरिका पार्टीका ध्वस्त भएका संरचना साथै सार्वजनिक संरचनाको पुनर्निर्माण कार्यका लागि “एक-एक मुठिदान नेपाली कांग्रेस राष्ट्र निर्माणको अभियान” संचालन गर्न ढीलाई गर्नु हुँदैन ।
७. यस कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन जस्ता विविध मागहरु सामाजिक संजालमा आउन थालेको सन्दर्भमा मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा (२) बमोजिम केन्द्रीय कार्यसमितिले आबश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन बिशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा बिशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ । भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपर्युक्त देखेको छु ।
जय नेपाल !

तपाईको प्रतिक्रिया