वैकल्पिक स्थानबाट महानगरको पहिलाे दिन
पोखराका ९ वडा सुरक्षित, १४ पूर्ण र १० मा आंशिक क्षति

( दमकल र सभागृहबाट पोखरा महानगरले सेवा आरम्भ गर्दा पूर्ण क्षति भएका वडाहरु भने सामानको जोहो गर्ने चटारोमा )
पोखरा ।
जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको भवन खरानी बन्यो । कार्यालय, फर्निचर, फाइलदेखि लिएर कम्प्युटर, सर्भरसमेत ध्वस्त भएका कारण भदौ २४ गतेदेखि सबै सेवा पूर्ण रूपमा रोकिए । वडा कार्यालयहरुमा पनि तोडफोड र आगजनी भयो ।
आन्दोलनपछिको असामान्य अवस्थाबीच महानगरले बिहीबारदेखि वैकल्पिक स्थानबाट सेवा सुरु गरेको छ । बुधबारदेखि सेवा दिने सूचना जारी भएकोमा शोक बिदा परेकाले बिहीबारदेखि मात्र सेवा थालिएको हो । महानगरले पोखरा सभागृहलाई अस्थायी कार्यालय बनाएको छ ।
नगरबासीको काममा बाधा नपुगोस् भनी पोखरा महानगरले विभिन्न स्थानबाट सेवा थालेको छ । पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले आन्दोलनका क्रममा बचेका र कम क्षति भएका भवनहरु प्रयोगमा ल्याइएको जनाए ।
केही महाशाखा आन्दोलनकारीबाट जोगिएका थिए । ड्यामसाइड स्थित शिक्षा महाशाखा, सृजनाचोकमा रहेको सामाजिक विकास, लेखनाथको स्वास्थ्य, न्युरोडमा रहेको पूर्वाधार विकास (तोडफोड तर कम क्षति), जनप्रिय क्याम्पस अगाडिको आर्थिक विकास महाशाखा काम चलाउन योग्य छन् । सूचना अधिकारी तिवारीले अरु महाशाखा र सेवाहरु पोखरा सभागृह र सोही स्थानमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्रबाट पनि सुरु भएको सुनाए ।
महानगरले नै पोखरा ९ स्थित शान्तिवनमा बनाएको दमकलमा रहेको भवनमा पनि अस्थायी कार्यालय राखिएको छ । उक्त भवन दमकल र नगर प्रहरी ब्यारेकका लागि बनाइएको थियो । भर्खर बनेको भवनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन, सरसफाइ, सूचना प्रविधि र दमकल सञ्चालन हुने छन् ।
सभागृहमा प्रशासन महाशाखा, भण्डार, तथ्यांक, विपद, उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा, नगर प्रहरी रहने छन् । सोही ठाउँमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्रको भवनमा राजस्व र सहरी विकास महाशाखाको काम हुनेछ । ‘यी सबै अस्थायी संरचना हुन् । मिलाउँदै जाँदा हामीले पहिले सूचना प्रवाह गरेकोभन्दा केही फरक स्थानमा पनि पर्न सक्छन्,’ सूचना अधिकारी तिवारीले भने ।
प्रशासन महाशाखासहित राजस्व, लेखा जस्ता महत्वपूर्ण फाँट सभागृहमा भएकाले बिहीबार त्यहाँ सेवाग्रहीको भीड सामान्य दिन जस्तै देखिन्थ्यो । कतिपयले लामो समय रोकिएका काम सकाउन धैर्यपूर्वक प्रतीक्षा गरे भने कतिपयलाई डिजिटल भुक्तानीमा अड्किनु प¥यो । केहीलाई अत्यास पनि लागिरहेको देखियो ।
पोखरा १० मिलनटोलबाट राजस्व तिर्न सभागृह पुगेका डिलबहादुर गुरुङले महानगरको हालत देखेर दुख लागेको बताए । भ्रष्ट नेता तह लगाउने नाममा राज्यकै सम्पति नाश गर्नाले जनतालाई नै दुख हुने उनको प्रतिक्रिया छ । ‘पहिले एउटै अफिसबाट सबै काम हुन्थ्यो । अहिले त एउटा काम गर्न एक ठाउँ अर्कोका लागि अर्को ठाउँ जानुपर्ने भयो । पहिले त काम ढिला हुन्थ्यो अब झन के हुने हो,’ उनले भने, ‘भ्रष्टाचार भएकै थियो । भ्रष्टचारीलाई तह लगाउन अर्कै उपाय पनि अपनाउन सकिन्थ्यो होला नि ।’
उनी मालपोत कर तिर्न आएका थिए । नगद लिएर आएका उनीसँग नगद नलिइने भनेपछि केही बेर उनी अन्यमनस्कमा परे । पछि कर्मचारीले क्युआरमार्फत भुक्तानी गर्न सकिने बताइदिए । ‘मैले मोबाइलमार्फत तिरेँ, खुसी छु । यो अप्ठेरो अवस्थामा कसलाई के भन्नु छ र,’ नाम नलेखिदिन आग्रह गर्दै एक सेवाग्रहीले भने ।
बागलुङ बसपार्क क्षेत्रबाट सम्पत्ति कर तिर्न आएका अर्का सेवाग्रहीले फाइल जलेका कारण ढिलाइ भए पनि यस्तो अवस्थामा पनि सेवा सुरु हुनुलाई सुखद भएको टिप्पणी गरे । दिउँसो १ बजेसम्म महालेखा कार्यालयमार्फत नियन्त्रण हुने सर्भर नचलेपछि सबै काम रोकिएका थिए । त्यसपछि मात्रै ४७ जनाले सेवा लिएको राजस्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलले जानकारी दिए ।
सेवाग्रहीले घरबाहल कर, व्यवसाय कर, नगदी रसिद, सम्पत्ति कर, मालपोत कर र सिफारिस पत्र लगायतका सेवा लिएको उनले जानकारी दिए । पौडेलका अनुसार बिहीबार दिनभर नगद कारोबार भएको भएन । ‘महालेखा कार्यालयको सर्भर नचल्दा पनि चलेन । हामीले सकेसम्म क्युआर नै गर्नुहोस् भन्यौं । नगदमा काम गरेनौं । हामीले सेवाग्रहीलाई क्युआरमार्फत मात्रै कर तिर्न आग्रह ग¥यौं,’ पौडेलले भने ।
अधिकांश सेवाग्रहीले गुनासाभन्दा बढी सकारात्मक प्रतिक्रिया दिएका छन् । आन्दोलनपछि सेवाग्राहीका काम लामो समय अड्किएको भन्दै अहिले सेवामात्रै सुरु हुनु प्रशंसनीय भएको उनीहरुले सुनाए । ‘पुरानो भवन जलेर खरानी बनेको देख्दा मन दुख्छ । तर, वैकल्पिक व्यवस्था गरेर महानगरले सेवा सुरु गरिदिएकोमा धन्यवाद छ,’ ती सेवाग्राहीले भने ।
शान्तिवन स्थित दमकलको भवनमा आवश्यक सामान राख्ने तयारी भइरहेको पोखरा महानगरका प्रमुखका स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए । त्यहाँ रहने कार्यालय, शाखा सञ्चालनका लागि अझै केही समय लाग्नेछ । उक्त स्थानमा तयारी हुँदै गरेपनि अन्य स्थानबाट सेवा प्रवाहमा समस्या नरहेको लामाले जानकारी दिए ।
९ वडा सुरक्षित, १४ पूर्ण र १० मा आंशिक क्षति
आन्दोलनका क्रममा पोखराका अधिकांश वडामा क्षति पुगेको छ । वडाहरुले पनि सेवा सुरु गरिसकेका छन् ।
पोखराका ९ वटा वडामात्र सुरक्षित रहेको पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए । महानगरका ग्रामीण भेगका वडामा आन्दोलनकारीले क्षति पु¥याउन भ्याएनन् । वडा नम्बर २१, २२, २३, २४, २६, २७, २८, ३१ र ३३ मा कुनै क्षति भएको छैन ।
वडा नम्बर ६, ७, १७, १८, १९, २०, २५, २९, ३० र ३२ मा आंशिक क्षति पुगेको छ । वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ का वडा कार्यालयहरु कामै नलाग्ने अवस्थामा पुगेका छन् । सुरक्षित रहेका वडाहरुमा पनि ढुंगा प्रहार भई झ्यालढोकामा क्षति पुगेको छ ।
आंशिक र पूर्ण क्षति भएका वडाबाट सेवा सुचारु गर्नका लागि उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतसहितको बैठकले कमचलाउका लागि सामान किन्ने निर्णय गरेको छ । ‘मेयर सा’ब बाहिर नुभएकाले उपमेयरज्यूको अध्यक्षतामा बैठक बसी २ वटा कम्प्युटर सेट, ३ टेबल कुर्ची सेट वडाकै बजेटमा किनेर कार्यालय सञ्चालन गर्नका लागि निर्णय गरि पठाएका छौं,’ उनले भने, ‘कतिपय वडामा विभिन्न संघ। संस्था, व्यक्तिले सहयोग गर्नुभएको छ भन्ने सुनेका छौं । स्थानीयको यो काम निकै सराहनीय छ ।’







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया