गण्डकी सरकारलाई कांग्रेसको १० लाख

( गण्डकीमा कांग्रेस संसदीय दलको बैठकले पुनर्निर्माण कोष स्थापना गर्न सरकारसँग आग्रह गर्दै सहयोग गर्न लागेको हो )
पाेखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले प्रदेशमा जेनजी आन्दोलनका क्रममा भएको क्षति पुनर्निर्माणका लागि कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा असोज २ गते बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । बैठकले भदौ २३ र २४ गते भएका तोडफोड तथा ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरू, सुरक्षाकर्मीहरू तथा दिवंगत भएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।
न्यौपानेले भने, ‘जेनजीले आन्दोलनका क्रममा उठाएका सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासनको प्रत्याभूति गर्नुपर्ने जस्ता मुद्दाप्रति दल प्रतिबद्ध छ ।’ यस सन्दर्भमा नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले मितव्ययिता कायम गर्न चालु खर्च घटाउने, दरबन्दी कटौती गर्ने, कार्यालय समायोजन गर्नेजस्ता सुशासनमैत्री कार्यहरूको प्रशंसा गर्दै अझ जनमैत्री र उत्तरदायी ढंगले अघि बढ्न आग्रह गरेको छ ।
नेपाली जनताले लामो संघर्षपछि निर्माण गरेको नेपालको संविधानकै मार्गबाट मुलुकको समुन्नति र नयाँ पुस्ताको चाहना पूरा हुन सक्ने भएकाले संविधानको रक्षा तथा सुदृढीकरण गर्नु सबैको कर्तव्य भएको बैठकले निष्कर्ष निकालेको छ । यसै सन्दर्भमा संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति नेपाली कांग्रेस संसदीय दलले हार्दिक आभार व्यक्त गरेको छ ।
मुलुकमा रोजगारी सिर्जना र राजस्व उत्पादनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिइरहेको निजी क्षेत्रमाथि भएको गम्भीर आक्रमणको भत्र्सना गर्दै लगानीमैत्री वातावरण पुनःस्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।
आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेताहरु तथा आम नागरिकमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातका साधनमा ठूलो क्षति भएको हुँदा त्यसको यकिन विवरण तत्काल तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
यस विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज, युवापुस्ता लगायत सबैमा धैर्य रही संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकताबद्ध हुन पनि बैठकले अपिल गरेको छ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया