ताेडफाेडबाट जाेगिएकाे मन्त्रालयमा गण्डकी प्रदेश सरकारले मनाइयो संविधान दिवस

( जेनजी पुस्ताले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रता हाम्रा साझा लक्ष्य र जिम्मेवारी हुन् )
पाेखरा ।
‘धन्न यो मन्त्रालयमा आन्दोलनकारीको आँखा परेन ? आफ्नै मातहतको कार्यालयमा संविधान दिवस मनाउन पाइयो,’ कृषि सचिव वासुदेव रेग्मी कार्यक्रम सकेपछि कुरा राख्दै थिए । मूल सडकबाट केही भित्र रहेको र धेरैले मन्त्रालयका बारेमा जानकारी नभएका कारण भवन जोगिएको उनको प्रतिक्रिया छ ।
पोखरामा भएका अधिकांश सरकारी भवनमा आगलागी र तोडफोड हुँदा कृषि भूमि तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय जोगिए । नेपालको संविधान नै धरापमा पर्ने अवस्थाबाट बचेर संविधान दिवस मनाउन सम्भव भएको सोही कार्यक्रममा सहभागीहरुले टिप्पणी गरे । कृषि मन्त्रालयको सानो हलमा खचाखच सहभागीका बिच निर्धारित समयमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समरोह सुरु भयो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बलिदानी र संघर्षले बनेको संविधान जोगाउनुपर्नेमा जोड दिए । जेन–जीको माग सम्बोधन गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भदौ २३ र २४ गते भएका आन्दोलनलाई नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहना प्रष्ट पार्ने घटनाका रूपमा व्याख्या गरे । उनले सहादत प्राप्त गरेका युवा र सुरक्षाकर्मीलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति संवेदना प्रकट गरे ।
पाण्डेले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितको न्याय सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर रहेको बताए । मुख्यमन्त्री पाण्डेले भने, ‘जेनजी पुस्ताले उठाएका विषयहरु सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रता हाम्रा साझा लक्ष्य र जिम्मेवारी हुन् । तर पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै प्राप्त उपलब्धिमाथि प्रहार गर्ने र विकासलाई ध्वंस पार्ने प्रयास भएको छ ।’
उनले युवा पुस्तालाई सकारात्मक सोच राख्दै अघि बढ्न आग्रह गरे । गण्डकी प्रदेश सरकारले राइड सेयरिङमार्फत युवालाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती गर्ने, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापनमार्फत सुशासन कायम गर्ने कामअघि बढाइरहेको उनको भनाइ छ । यी सुधार प्रशासनिकमात्र नभई युवाको आशा र विश्वास पूरा गर्न र प्रदेशको समुन्नतिका लागि पनि आवश्यक रहेको उनले स्पष्ट पारे ।
पाण्डेले भने, ‘लोकतन्त्रमा नागरिकको आवाज र अधिकारको सम्मान गर्न सरकारको दायित्व हुन्छ । माग पूरा गर्न संवैधानिक उपाय अबलम्बन गर्नु स्वागतयोग्य छ तर सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीलाई नियन्त्रण गर्दै नागरिकलाई शान्ति र सुरक्षा दिलाउनु पनि सरकारकै जिम्मेवारी हो ।’ उनले संविधानले दिएको अधिकारसँगै कर्तव्यबोध पनि आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ । त्यसैले यसको रक्षा र कार्यान्वयनका लागि सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज र युवा पुस्ताको भूमिका अपरिहार्य छ,’ मुख्यमन्त्री पाण्डेले थपे । प्रदेश सरकारले सीमित साधन, स्रोतका बाबजुद योजनाको सफल कार्यान्वयनमा ध्यान दिएको उनको जिकिर छ ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि तत्काल सेवा सहज बनाउन मन्त्रालय, निकाय र कार्यालयमार्फत काम सुरु भएको र संघीय सरकारको नीतिअनुसार पुनर्निर्माण अघि बढाइने पनि उनले जानकारी दिए । पर्यटन राजधानीका रूपमा पोखरालाई अघि बढाउने दीर्घकालीन योजनामाथि आन्दोलनका कारण नकारात्मक असर परेको उनले टिप्पणी गरे ।
निजी क्षेत्रमाथि भएको आक्रमण छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार सक्रिय रहनेछ ।’ उनले राष्ट्रपति रामचन्द्र पौडेलको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रतिको अभिभावकत्वको प्रशंसा गरे ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले संविधानलाई गतिशील बनाउन नसकिएको बताए । समयको माग अनुसार संविधान संशोधानमा ध्यान नपुगेको उनको भनाइ छ । ‘समय त बढो गतिशलि हुने रहेछ । अझ युवाले त विषयबस्तु अझै बढी बुझ्ने रहेछन् । राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रभाव पनि यसमा पर्ने नै भयो,’ उनले भने, ‘यो गतिशीलतालाई बुझेर समयमै संशोधन गर्न हाम्रो ध्यान पुगेन कि भन्ने मलाई अनुभूति त भएकै हो ।’
गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीले जेनजी आन्दोलनको फाइदा उठाउँदै केही उछृखंल तत्वले राज्यको सम्पत्ति दोहन गरेको तर्क गरे । संघीय लोकतान्त्रिक गणतन्त्रपछिको संविधान जनतामा निहित भएकाले पश्चगमनभन्दा पनि अग्रगमनका लागि प्रयोग गरिनुपर्नेमा उनको जोड छ । व्यक्ति भ्रष्ट हुन सक्ने तर, संस्था भ्रष्ट नहुने भएकाले सार्वजनिक सम्पत्ति नष्ट गरिनु गलत भएको उनले सुनाए ।
गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता हरिबहादुर चुमानले भएका कमी, कमजोरी सुधार्दै जानुपर्ने बताए । पछिल्लो समय जेनजीको माग सम्बोधनका लागि संविधानमा अग्रगामी परिवर्तन गरेर जान सकिने उनको भनाइ छ । ‘नेपालको संविधान संविधानले गाँठो फुकाउने कुरा पनि गरेकै छ,’ उनले भने, ‘त्यही प्रक्रियाबाट हामीले निकास निकाल्नुपर्छ । तर, अहिले संविधानमाथि आँच पु¥याउने काम भइरहेको छ । छिटोभन्दा छिटो संविधानको ट्रयाकमा देशलाई पु¥याउनका निम्ति सबैलाई आग्रह गर्दछु ।’
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य र मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयका निमित्त सचिव रमेश ढकालले दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि बनाएको संविधान रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया