
पोखरा ।
दसैंको पहिलो दिन घटस्थापना सुरु भएकै छैन । पोखराको याम्दी, जौबारी क्षेत्रले दसैं आएको महसुस गराउँछ । सोह्रश्राद्ध नसकिँदै चाडपर्व लक्षित भेडाच्यांग्रा पोखरा भित्रिसकेका छन् । अहिले मुस्ताङ, डोल्पा, मुगु, बझाङ लगायतका जिल्लाबाट भेडाच्यांग्रा पोखरा आइसकेका छन् भने केही व्यापारी बाटोमै छन् ।
सधैं जस्तै यो वर्ष पनि पोखरा महानगरपालिका वडा नम्बर १ जौबारी, पोखरा २५ को याम्दी र हेमजा क्षेत्रमा नवदुर्गाको ३ दिन अघिदेखि नै भेडाच्यांग्रा किनबेच सुरु भइसकेको छ । मुगुको खत्याड गाउँपालिकाबाट भेडा, च्यांग्रा लिएर पोखरा व्यापारका लागि आएका राजबहादुर बुढाथापाले शनिबार ४० वटा च्यांग्रा बिक्री भइसकेको बताए ।
‘हामीले राराताल क्षेत्रबाट लिएर आएका छौं । यहाँ आउन ६ दिन लाग्यो । बिहानबाट बेच्न लागेको ४० वटा त बिकी सक्यो,’ उनले भने, ‘३ वटा भेडा र अरु च्यांग्रा गरी १ सय वटा भेडाच्यांग्रा ल्याएका छौं ।’ छिटो ल्याउँदा बिक्री पनि अरुको भन्दा चाँडो हुने भएकाले घटस्थापनाअघि नै ल्याएको उनले सुनाए ।
अघिल्ला वर्षमा पनि अरुले भन्दा छिटो पोखरा ल्याएर बिक्री गर्ने गरेको उनले स्मरण गरे । ‘छिटो ल्याएपछि छिटो बिक्ने पनि भयो अनि घर फर्केर परिवारसँग दसैं मनाउन पनि पाइयो,’ उनले भने, ‘यहींको कमाइले दसैंका लागि लत्ताकपडा र खाद्यान्न किन्न सजिलो हुन्छ ।’
उनकोमा रोजेर ३५ हजार रुपैयाँसम्मका च्यांग्रा छन् । ‘यतै खरिद गर्दा एउटाको २५ हजार रुपैयाँसम्म पर्छ । अलिअलि गर्दै समेल्नुपर्छ,’ उनले भने, ‘यहाँ ल्याउँदासम्म मेहनत पनि धेरै नै हुन्छ नि ।’ तौलेर लगेमा च्यांग्रो प्रति किलो १ हजार र भेडा किलोको ९ सय रुपैयाँका दरले बेचिने व्यापारी बुढाथापाले बताए ।
शनिबार दिउँसोसम्म जौबारी, याम्दी क्षेत्रमा मुस्ताङ, डोल्पा, मुगु र बझाङबाट ल्याइएको भेडाका बथान देखिएको थियो । त्यहाँ भेडाच्यांग्रा लिएर आएका व्यापारीका अनुसार गत वर्षभन्दा यो वर्ष तुलनात्मक रुपमा केही कम मूल्यका भेडाच्यांग्रा बिक्रीमा छन् । हेमजाका भेडाच्यांग्रा व्यापारी झपटबहादुर थापा यो वर्ष खरिदमै केही कम मूल्य परेको बताउँछन् ।
पोहोर रोज्जा च्यांग्रा ५७ हजारसम्ममा बेचिएका थिए, यसपालि ५० हजारसम्मका छन्
झपटले मुस्ताङ कागबेनी क्षेत्रबाट भेडाच्यांग्रा लिएर आएका हुन् । उनकोमा रोज्जा च्यांग्राको ४२ हजार रुपयाँसम्म छ । १५ वर्षदेखि दसैं बेला यो व्यवसाय गर्दै आएका उनी विगत २ वर्षमा भन्दा यो वर्ष भेडाच्यांग्राको मूल्य केही घट्ने सुनाउँछन् । गत वर्ष सबैभन्दा बढी ५७ हजारसम्मका भेडाच्यांग्रा बिक्री गरेको उनले अनुभव सुनाए ।
उनले यो वर्ष मुस्ताङबाट १ सय ६० च्यांग्रा लिएर आएका छन् । रोजेर लगेर ४०/४२ हजारसम्म दिने र जोखेर लगेमा प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँ दर कायम गरेको उनी सुनाउँछन् । शुक्रबार जाजरकोटको नलगाड नगरपालिकाबाट भेडाच्यांग्रा पोखरा ल्याएका व्यापारी मोहनसिंह महतासँग १ सय २० भेडा र साँढ अनि २० च्यांग्रा छन् । फूलपातीसम्ममा त्यस क्षेत्रमा अझै धेरै भेडाच्यांग्रा पोखरा आउनेछन् ।
उनले भेडा, साँढको ४५ हजार र च्यांग्रा बढीान ५० हजार रुपैयाँमा बेच्ने बताए । ‘हामीले भेडा बढी ल्याएका छौं । सबै आफंैले पालेका हुन् । सैपाल, अपि हिमाल फेदमा चराउँछौं,’ उनले भने, ‘दसैंमा पोखरामा भेडाच्यांग्रा धेरै बिक्री हुन्छ । यो वर्ष हामीले भेडा र साँढ ४१/४२ देखि ४५ हजारसम्म बेच्ने हो अनि च्यांग्रा एउटामात्र अलि ठूलो छ । त्यो ५० हजारमा दिने अरु मिलाएर दिने ।’
दसैँका बेला हिमाली भेगबाट झारिने भेडा, च्यांग्राको भाउ पछिल्लो केही वर्षमा बढेको देखिए पनि यो वर्ष केही कम सुनिएको पोखरा १ बगरकी स्थानीय ओमकुमारी गुरुङले बताइन् । सुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उनको अनुमान छ ।
पोखरामा दसैंका बेला भेडाच्यांग्राको माग अत्यधिक हुने गरेको उनले सुनाइन् । ‘च्यांग्राको मासु नखाए दसैं नै खल्लो हुनेजस्तै भइसकेको छ,’ उनले भनिन्, ‘धेरैले एउटै डोर्याएर लैजान्छन् । तर सिंगै किन्न नसक्नेहरु मिलेर भए पनि लग्छन् ।’ च्यांग्रा तथा भेडाको मासु स्वादिष्ट हुने र तिनले जडीबुटीसमेत खाएका कारण स्वास्थ्यवर्धक हुने मानिसहरुको विश्वास छ ।
यो वर्षको दसैंका लागि शनिबार बिहानसम्म मुस्ताङबाट १३ हजार ५ सय ७५ भेडाच्यांग्रा निकासी भएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय, मुस्ताङका अनुसार मुस्ताङका कृषकले पालेका ६ हजार ९ सय, कर्णाली प्रदेशको जुम्लाबाट ७ सय ७५, मुगुबाट ५ सय र डोल्पाबाट ५ हजार ४ सय भेडाच्यांग्रा निकासी भएका छन् ।
मुस्ताङसहित कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट दसैं लक्षित भेडाच्यांग्रा मुस्ताङ हुँदै बेंसीतर्फ झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय, मुस्ताङका पशुचिकित्सक डा लालमणि अर्यालले जानकारी दिए । मुस्ताङबाट अझै थप १ हजार हाराहारीमा भेडांच्यांग्रा जिल्लाबाहिर निकासी हुने प्रक्षेपण गरिएको छ ।
दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडाच्यांग्रा किन्न नसक्नेहरु खसीबोकामै रमाउँछन् । दसैंका बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका पनि ल्याउने गरिन्छ ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया