२ महिना स्याउको व्यापार

सुन्दरकुमार थकाली २०८२ असोज ५ गते १२:०२

जोमसोम ।
स्याउको राजधानीका रुपमा परिचित मुस्ताङ । यहाँको स्याउ नेपालका धेरै सहरसम्म पुग्छ । हिमाली क्षेत्रको चिसो हावापानी र हिउँले सिञ्चत स्याउ स्वादिलो र पोषिलो मानिन्छ । १८ वर्षदेखि निरन्तर मुस्ताङमा स्याउको व्यापार गर्दै आएका धादिङका स्याउ व्यापारी कान्छा लामा २ महिनादेखि मुस्ताङमै छन् ।


बर्सेनि भदौ र असोज महिनामा यहाँ बसेर स्याउको व्यापार गर्छन् उनी । अरु बेला आफ्नै गाउँमै बसेर खेती, किसानी उनको जीवनचर्या हो । स्याउ उत्पादन हुने समय हुँदा कान्छासधैं मुस्ताङ आउँछन् । स्याउ कृषकका बगैचा बगैचामा पुग्छन् । त्यसो त यो स्याउ व्यापारमा कान्छा एक्लै छैनन्; उनीसँग अन्य ६/७ जना गाउँका साथीहरु पनि जोडिएका छन् ।


स्याउ टिप्नु गर्ने एक महिनाअगावै मुस्ताङ आएर यहाँका स्याउ कृषकको बगंैचा अवलोकन गरी मोलतोल गरी बैनापट्टा गर्छन् उनी । परिचित स्याउ कृषकलाई थोरै पेश्की र नयाँ जोडिएका कृषकलाई अलि बढी पैसा बुझाएर स्याउ बगैचा तोकुवामा किन्छन् उनी

Advertisement


मुस्ताङको मार्फा, स्याङ, जोमसोम लगायतका गाउँमा स्याउ किन्ने गरेको व्यापारी लामाले सुनाए । ‘गत वर्ष स्याउ व्यापारबाट राम्रै आम्दानी भएको थियो, यस पटक त स्याउ पनि महंगो भयो र कम फल्यो,’ लामा भन्छन्, ‘यस पटक गत वर्षको जस्तो फाइदा त हुँदैन होला, तैपनि दुख अनुसारको केही फाईदा हुन्छ कि भन्ने आशामा छौं ।’


कान्छासँगै धादिङका तारा लामा पनि ८ वर्षदेखि स्याउ व्यापारामा छन् । यहाँबाट ढुवानी गरेर बजार पु¥याइएको स्याउ सम्पर्कका आधारमा बिक्री गर्ने गरेको उनले सुनाए । यहाँ लोकल स्याउमात्रै बगैचा तोकुवा गरी खरिद गर्ने गरेको र यहाँको स्याउ पोखरा, काठमाडौ, नारायणगढ, बुटवल, भैरहवा, म्याग्दी र बागलुङका व्यापारीलाई थोक मूल्यमा बिक्री गर्ने गरेको तामाङले सुनाए ।

Advertisement


‘यस्तै हो व्यापारमा कहिले नाफा हुन्छ, कहिले घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ,’ तामाङले थपे, ‘जेहोस् निरन्तर यहाँ स्याउको सिजनमा व्यापार गर्न आउने गरेका छौं, स्याउको व्यापारमा सन्तुष्ट नै छौं ।’


यस्ता समूहले मुस्ताङबाट बर्सेनि ७/८ ट्रक स्याउ संकलन गरी बजारमा पुर्‍याउने गरेका छन् । यहाँबाट करिब १ करोड २० लाखको स्याउ संकलन गर्ने गरेको उनीहरुको भनाइ छ । स्याउ टिप्ने, प्याकिङ गर्ने र ट्रकमा ढुवानी गरी पु¥याउँदा निकै धेरै खर्च हुने गरेको उनीहरुको भनाइ छ ।


‘यहाँ दुई महिनादेखि स्याउ संकलन गर्ने र बजार पठाउने काममै व्यस्त छौं, अब स्याउको सिजन सकिनेबित्तिकै घर फर्किन्छौं,’ तारा भन्छन्, ‘यहाँ सबै स्याउ बिक्री गरेपछि फेरि स्याउ किसानलाई पूरै भुक्तानी गर्छाैं । व्यापारमा इमान्दारिता देखाउन सकेमात्रै यहाँका कृषकले पत्याउँछन् ।’ सबैजसो स्याउ कृषकसँग चिनजान भइसकेकाले किसानसँग सहकार्यमा समस्या नरहेको उनी सुनाउँछन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया