पोखरामा पाम आयल चोरी प्रकरणमा ३ जना पक्राउ

समाधान संवाददाता २०८२ असोज ६ गते ५:०७

Advertisement

पोखरा। कास्की प्रहरीले पोखरामा पाम आयल चोरी प्रकरणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं.१० स्थित पोखरा औद्योगिक क्षेत्रभित्र रहेको हिमश्री फुड्स प्रा.लि.का लागि सिजी आयल एन्ड डेरीभेटीभ प्रालिबाटखरिद गरी ल्याइने पाम आयल २०८२ असोज ३ गते बिहान करिब ८:३० बजेको समयमा तेलको सट्टा पानी हालेर ल्याइएको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा बारा जिल्ला, जितपुर सिमरा उपमहानगरपालिका–२२, अमलेखगञ्जका ३५ वर्षीय कविराज गौतम, ४९ वर्षीय शम्भु भनिने छविनाथ गौतम र ३७ वर्षीय बुद्धि बहादुर लामाले ना.५ ख.७७०८ नम्बरको ट्रक प्रयोग गरी बाटोमै पाम आयल चोरी गरी बिक्री वितरण गरेको तथ्य फेला पारेको हो । तौल मिलान गर्न उनीहरूले जर्किनमा पानी भरेको समेत खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट पानी भरिएका १८ थान पहेंलो जर्किन र नगद १३ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई चोरी सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया