ठूलोढुंगाको बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने

पोखरा, ५ असोज । पोखरा महानगरपालिका वडा नम्बर ३३ ठूलोढुंगास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ ।
विश्व शान्तिका साथै नेपाल शान्ति र विकासको मार्गमा उन्मुख होस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार भोलि घटस्थापनादेखि मन्दिरका पूजारी बसन्तप्रसाद आचार्यसहित तीन जना पण्डितहरूबाट मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुनेछ । त्यस्तै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजा गरिने छ ।
मन्दिरका फूल प्रसादलाई विजयादशमीका दिनमा आसपासका क्षेत्रका स्थानीयका घरघरमा वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थी मन्दिरमा आउने गरेका छन् ।
मन्दिरमा बलि पूजा भने नहुने जानकारी दिँदै उनले ठूलोढुंगा र आसपासका क्षेत्रबाट विभिन्न भाकलसहित पूजाआजाका लागि दर्शनार्थी आउने गरेको बताए ।
सचिव लामिछानेका अनुसार मन्दिरको सुरुमा पोखरा महानगरपालिका वडा नम्बर ३३ निवासी लेखबहादुर गुरुङले टिनको जस्ता प्रयोग गर्न र मन्दिरको गारो लगाउन अतुलनीय सहयोग गरेका थिए । उक्त मन्दिर निर्माण भइसकेपछि पोखरा–३३ निवासी दिननाथ आचार्यबाट पूजाआजा हुँदै आएकोमा पछि बसन्त आचार्यले हालसम्म नियमित पूजाआजा गर्दै आएका छन् ।
दुई सय वर्षअघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको भने अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार करिब दुई सय वर्षअघि लेकतिरबाट एक जना महिला माइत जान भनी बाटो हुँदै आएका थिए र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसेका थिए ।
निज महिला गर्भवती भएकी र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समयपछि बालिका अलप भएकी तर दिव्य स्वरुपमा त्यही घुमिरहेको र सो स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेको विश्वास छ ।
बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थालेपछि के रहेछ भनी लामा धामीलाई ल्याएर हेरिएको थियो । खोजी गर्दा उक्त बालिकाको आत्माले धामीमार्फत सम्पूर्ण घटनाबारे बताएर ‘म देवी हुँ, यही स्थानमा मेरो मन्दिर बनाऊ’ भन्ने निर्देशन दिएको भनाइ छ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना गरिएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ ।
यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो ।
प्रत्येक वर्षको जेठ पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । अघिल्ला वर्षमा जेठ पूर्णिमाका दिन पूजा गर्दा पाठीको बलि दिने प्रचलन रहे पनि स्थानीयवासीको सामूहिक निर्णयअनुसार विगत तीन वर्षयता बलिदिने प्रचलन हटिसकेको सचिव लामिछानेले जानकारी दिए ।
विभिन्न महत्वपूर्ण तिथिमितिमा पनि ठाउँ–ठाउँबाट दर्शनार्थीहरू मनले चिताएको पुग्ने विश्वासका साथ पूजाआजाका लागि आउने गरेका छन् ।
मन्दिरको संरक्षण र विकासका लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति सक्रिय रहेको छ । मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराएका छन् । मन्दिरमा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि पनि थप जग्गा दिने प्रतिबद्धता आचार्यले व्यक्त गरेको सचिव लामिछानेले जानकारी दिए ।
पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुंगा चोक नजिक पर्ने यो मन्दिर सडकको सहज पहुँचमा रहेको छ । पूर्णरुपमा कालोपत्रे सडक बनेका कारण पछिल्ला वर्षमा यहाँको महिमा र गरिमा अझ बढेको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया