अन्तरिम सरकारमा थप ५ मन्त्री सिफारिस, केही नाममा विवाद, शपथ सोमबार

समाधान संवाददाता २०८२ असोज ६ गते ५:३१

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै थप ५ जना मन्त्रीको नाम सिफारिस गरेकी छन् । तर केही नाममा विवाद उठेपछि बालुवाटारले शीतल निवासलाई नियुक्ति ‘होल्ड’ गर्न आग्रह गरेको छ ।

बालुवाटार स्रोतका अनुसार आइतबार प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको नाम पठाएकी हुन् । सोमबार शपथग्रहण हुने कार्यक्रम रहेको छ ।

Advertisement

सिफारिस भएकामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्राको नाम छ । उनले अतिरिक्त सचिवको पदबाट राजीनामा दिइसकेकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय महावीर पुनलाई दिइएको छ भने उद्योग तथा भूमिसुधार मन्त्रालय पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई जिम्मा लगाउने तयारी छ । त्यस्तै सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय पत्रकार जगदीश खरेल र कृषि मन्त्रालय डा. मदन परियारलाई सिफारिस गरिएको छ ।

विवादपछि मन्त्री बन्ने डा. संगीता

स्वास्थ्य सचिव नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्टि जनाएकी डा. संगीता मिश्राले अहिले मन्त्रीको टिकट पाएकी छन् । २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी उनले फुलब्राइट छात्रवृत्तिमा अमेरिका पढेकी थिइन् । पछि २०७० असोज १० गते ११औं तहमा नाम निकालेर पुनः सेवामा प्रवेश गरेकी उनी विभागीय प्रमुखदेखि अस्पताल प्रमुखसम्म बनेकी थिइन् । कोभिड समयमा कोशी अस्पतालमा गरेको काम र परोपकार प्रसूति गृहमा नेतृत्व गरेकाले उनलाई ‘काम गर्ने इमानदार प्रशासक’का रूपमा चिनिन्छ ।उनको नाममा सबैभन्दा बढी विवाद आएकाले नियुक्ति होल्डका लागि आग्रह गरिएको हो ।

Advertisement

‘नवप्रवर्तनका अभियन्ता’ महावीर पुन

शिक्षा मन्त्रीका रूपमा देखिएका महावीर पुन म्याग्दीको नाङी गाउँमा जन्मिएका हुन् । अमेरिकामा पढाइ सकेर फर्किएका उनले गाउँमै सूचना–प्रविधिको क्रान्ति थालेका थिए । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार र २०७९ मा सरकारले ‘भवन कीर्ति रत्न’ सम्मान दिइसकेको छ । ‘नवप्रवर्तनका अभियन्ता’ भनेर चिनिने पुनले आत्मकथा ‘महावीर पुन’ लेखेका छन् । गण्डकी प्रदेश सरकारले समेत उनलाई ‘गण्डकी रत्न ’ प्रदान गरेको थियो । आविष्कारका क्षेत्रमा काम गरे पनि उनी सरकारी निर्णय प्रक्रियाका बारेमा उनले जहिल्यै गुनासो गर्दै आएका छन् ।

न्यायालयदेखि मन्त्रालयसम्म अनिलकुमार सिन्हा

उद्योग तथा भूमिसुधार मन्त्रीका रूपमा देखिएका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । संसद विघटनलाई असंवैधानिक ठहर गर्ने ऐतिहासिक फैसलामा उनी निर्णायक भूमिकामा रहेका थिए । कर तथा कर्पोरेट कानुनका विशेषज्ञ वकिलका रूपमा चर्चित सिन्हा न्यायपालिकाबाट अवकाश पाएको वर्ष दिन नबित्दै मन्त्री बन्ने तयारीमा छन् । सर्वोच्चको पूर्व न्यायाधीश मन्त्री बन्ने पाउने कि नपाउने विवाद उठेकै छ । स्वयं प्रधानमन्त्री नै पूर्व प्रधानन्यायाधीश भएकाले केही फरक नपर्ने समेत चर्चा चलेको छ ।

‘हट सिट’ बाट मन्त्रालयमा जगदीश खरेल

सञ्चार, सूचना तथा प्रविधि मन्त्रीका रूपमा सिफारिस भएका जगदीश खरेल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । ‘हट सिट’ कार्यक्रम सञ्चालकका रूपमा चर्चित खरेल अहिले इमेज टिभीका समाचार प्रमुख छन् । दोलखा निवासी उनी पत्रकारिता विषयमा स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गर्दै छन् ।

दलित समुदायका पहिलो पीएचडीधारी डा. मदन परियार

कृषिमन्त्रीका रूपमा नाम निकालिएका डा. मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन् । संविधानसभाको राज्य पुनर्संरचना आयोगको संयोजक बनेर काम गरेका उनी जातीय भेदभावविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका छन् । दलित समुदायबाट पीएचडी गर्ने पहिलो व्यक्ति परियारले जलवायु परिवर्तन र कृषि क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् ।

तपाईको प्रतिक्रिया