मोबाइल एपमार्फत सेवा विस्तार गर्दै पोखराका ट्याक्सी व्यवसायी

पोखरा । राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी व्यवसायीले आफैँ मोबाइल एप सुरु गरेका छन् । सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन ‘मुभइन’ नामको अनलाइन एप सोमबार सार्वजनिक गरिएको हो । सुरुमा एप प्रयोग गर्न चालक वा ग्राहक दुवैले कुनै शुल्क तिर्नु नपर्ने र विस्तारै देशैभर सेवा पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एप सार्वजनिक कार्यक्रममा प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्न माग गरे । उनले भने, ‘चार पाङ्ग्रे सवारीलाई मात्र यसमा समेट्नुपर्छ । यस एपमार्फत व्यवसायी प्रविधिमैत्री बन्न तयार रहेको सन्देश प्रस्ट भएको छ ।’
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एप सञ्चालनले शहरको ट्याक्सी सेवामा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार ट्याक्सी व्यवसायीलाई प्रविधिको विरोधी भनेर हेरिएको धारणा अब गलत साबित हुनेछ ।
निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोगमा आएपछि चोकमा उभिएर ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताए । उनले भने, ‘अब ट्याक्सी चढ्नुअघि कतिमा लैजान्छौ भनेर सोधिरहनु पर्दैन ।’
हाल एपमा १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् भने पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसबाट यात्रुहरूले आफ्नै गेटबाट ट्याक्सी बोलाउने सुविधा पाउने विश्वास लिइएको छ ।
एपको प्राविधिक विकासमा पोखराका आइटी इन्जिनियर रविन तिवारीसहित ४५ जनाको टोलीले झन्डै एक वर्ष समय खर्चेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले एप सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सहज बनाउन ल्याइएको बताए । उनले भने, ‘हामीले एपलाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका साथ अघि बढाएका छौँ । भविष्यमा पनि नाफाको ठूलो हिस्सा व्यवसायीहरूको हितमै खर्च गरिनेछ ।’
प्रारम्भिक चरणमा एप प्रयोगबापत कम्पनीले कुनै कमिसन नलिने घोषणा गरेको छ । चालकहरू एपमा सक्रिय देखिन न्यूनतम ५०० रुपैयाँ ब्यालेन्स राख्नुपर्ने तर सो रकम काटिने नगर्ने व्यवस्था गरिएको छ । यात्रु र चालकलाई एप प्रयोगबारे सचेत गराउन विशेष अभियान चलाइने पनि पराजुलीले बताए ।
निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले भने, ‘यो बच्चा जन्मिसकेको छ । अब यसलाई हुर्काउने, बढाउने काम हाम्रो काँधमा छ । आफ्नो पेसालाई सम्मानजनक बनाउन यसले टेवा पुर्याउनेछ ।’
जेठ महिनामा गण्डकोकफ मन्त्रिपरिषदले राइड सेयरिङ सम्बन्धी नियम पारित गरेपछि यातायात व्यवसायीहरूले कडा विरोध गरेका थिए । उनीहरूले एक सातासम्म यातायात ठप्प पारेर देशव्यापी आन्दोलन पनि गरेका थिए ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया