सहरी विकासको एउटा इतिहास भत्कियो

पोखरा । करिब ५४ वर्षदेखि पोखराको सहरी विकास र भूमि व्यवस्थापनको केन्द्र बनेको पोखरा उपत्यका नगर विकास समितिको कार्यालय अब इतिहासको पाना बनेको छ । शहीदचोकमा अवस्थित यो कार्यालय ढलेसँगै पोखराको सहरी विकासको पहिलो खाका कोर्ने संस्था भौतिक रूपमा मेटिएको हो ।
नेपालकै पहिलो अर्बान प्लानिङ र पहिलो ल्याण्ड पुलिङको अभ्यास पोखरामै सुरु भएको थियो । सभागृहचोकदेखि चिप्लेढुंगासम्मको न्युरोड निर्माणको परिकल्पना गर्ने, पोखराको समग्र ल्यान्ड–युज प्लान तयार गर्ने यस्ता महत्वपूर्ण काम यसै कार्यालयमार्फत भएका थिए । कच्चा इटा र माटो प्रयोग गरेर डेढ फिटभन्दा मोटा गार्हो लगाएर बनाइएको सानो भवनले पाँच दशकभन्दा बढी समयसम्म पोखराको सहरी नियति नियालेको थियो ।
यो भवनले मात्र सेवा दिएको थिएन, यसले स्मृतिहरू पनि बोकेको थियो । यहाँबाट पोखराका सार्वजनिक जमिन, चौर, पाटन, फाट, ताल, खोलानाला, डिलभिरदेखि अतिक्रमणसम्बन्धी निर्णयहरू हुँदै आएका थिए । अर्कोतर्फ मापदण्ड उल्लंघन गर्ने र जग्गा अतिक्रमण गर्नेहरूका लागि यो कार्यालय सधैं ‘कानुनी अवरोध’का रूपमा खडा रह्यो ।
भवन भत्काउँदा धेरैलाई थाहा नहुन सक्छ—यो कुनै सामान्य सरकारी संरचना थिएन । तर जसले यसलाई आगोले ग्रास बनाउने वा भत्काउने अवस्था सिर्जना गरे, उनीहरूलाई राम्ररी थाहा थियो कि यसैमार्फत अतिक्रमित जमिनको खोजी गर्ने काम टुंगिन्छ ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरका मेयर धनराज आचार्यले फेसबुकमा लेखेका छन्, ‘यो कार्यालय आफैंमा एउटा इतिहास थियो । यसको ढलाइसँगै सहरी विकासको एउटा अध्याय नै भत्किएको छ । तर हामी सूचना र प्रविधिको युगमा छौं, आशा गरौं—यसका अमूल्य अभिलेख र दस्तावेजहरू डिजिटल रूपमा सुरक्षित छन् ।’
साँचिकै, यो कार्यालय केवल इँटा र माटोको संरचना थिएन, यो पोखराको भूमि–इतिहास बोकेको एउटा जीवित संग्रहालय थियो । अब यो भौतिक रूपमा ढले पनि यसले लेखेको इतिहासलाई सुरक्षित राख्ने जिम्मा आजको पुस्ताले लिनुपर्नेछ ।








माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया