कबाड ठेकेदार कम्पनीद्वारा ‘सम्झौताभन्दा बढी दस्तुर’ मागको आरोप

पोखरा ।
पोखरामा कबाडीजन्य सामानको खरिद–विक्री र निकासी गर्दै आएका व्यवसायीहरूले महानगरपालिकासँग कर असुल्ने ठेक्का पाएको कम्पनीका प्रतिनिधिले गैरकानुनी दबाब सिर्जना गर्दै सम्झौताभन्दा बढी दस्तुर माग गरेको आरोप लगाएका छन् ।
मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी एड्रियन मल्टीप्रपोज कन्स्ट्रक्शन प्रालिका सञ्चालक रविन गुरुङ, जिपीएस सप्लायर्सका गिर बहादुर पुन, सुजित मुल्मी, प्रदिप गुरुङ, प्रदिप बस्नेत, एलजी सेक्युरिटी सर्भिसेज प्रालिका विवेक गुरुङ र राहुल गुरुङलगायतका व्यवसायीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ठेकेदार कम्पनी पिएल कन्स्ट्रक्सनमाथि सम्झौताभन्दा बढी कर असुल्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
व्यवसायीहरूले भनेअनुसार पिएल कन्स्ट्रक्शनले पोखरा महानगरपालिकाबाट करिब १४ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएकाे हाे । सम्झौताअनुसार महानगरमा संकलित फोहोर आयात हुँदा प्रतिकेजी ३ रुपैयाँ दरले कर असुल्ने कानुनी व्यवस्था छ । तर ठेक्का पाएको कम्पनीले अतिरिक्त रकम माग गरेको सञ्चालक रविन गुरुङले बताए । उनले आफूहरू २५ व्यवसायीको समूह रहेको उल्लेख गर्दै संविधानले दिएको मौलिक हकअधिकार र प्रचलित कानुनअनुसार व्यवसाय गर्दै आएपनि अतिरिक्त रकम मागेर हैरानी पारिएको पत्रकार सम्मेलनमा बताए । तर, ठेक्का पाएकाे पिएलका प्रेमपहारीले आफूहरूले त्यसरी अतिरिक्त रकम नलिएकाे समाधानलाई बताए ।
तर ठेकेदार कम्पनीले सम्झौताभन्दा बढी कर मागेर हाम्रो हक अधिकार कुण्ठित गर्ने प्रयास गरेको पत्रकार सम्मेलनमा सञ्चालक गुरुङले बताए ।
उनले तोकिएको कर तिर्न व्यवसायीहरूलाई कुनै आपत्ति नभएको स्पष्ट पारे । पोखरा विजयपुर नजिकै रहेको मेगा टेकमा कबाडीजन्य सामान तौल गरी महानगरले तोकेको दरअनुसार प्रतिकेजी ३ रुपैयाँ कर बुझाउँदै आएको उनले जानकारी दिए । ‘तर, ठेकेदार कम्पनीले थप ४ रुपैयाँ कर मागेपछि हामी पत्रकार सम्मेलन गर्न बाध्य भयौं,’ उनले भने ।
यद्यपि, उनले अतिरिक्त रकम मागिएको प्रमाण प्रस्तुत गर्न सकेनन । विज्ञप्तिमार्फत पनि ठेकेदार कम्पनीले धम्कीपूर्ण व्यवहार गर्दै कर्मचारीमार्फत दबाब दिने काम भइरहेको गुरुङले दाबी गरे । ‘हामीले तोकिएको दरअनुसार कर बुझाउँछौं भन्दा गुण्डा र भरौटे भन्ने जस्ता शब्द प्रयोग गरी अपमान गरिएको छ,’ उनले भने । यसअघि पनि यस्तै विवाद भएपछि रामबजार प्रहरी कार्यालयमा मिलापत्र भएको उनले सुनाए ।
व्यवसायीहरूले कबाडीजन्य सामानको वर्गीकरण गरी पुनः प्रयोग हुने सामग्री उद्योगमा पठाउँदा कानुनअनुसार राजश्व र कर बुझाउँदै आएको उनले बताए ।
गुरुङका अनुसार पोखरामा हाल १६० भन्दा बढी कबाड संकलन केन्द्र रहेका छन्, जसमा उनीहरूको मात्र २५ बढी केन्द्र सञ्चालनमा छन् । ‘हामी कबाड संकलन गर्ने होइनौं, संकलन भएको कबाड खरिद गरेर लोडरमार्फत पर्सा, भैरहवा, सिमरा र विराटनगर पु¥याउँछौं,’ उनले भने ।
उनका अनुसार सबैभन्दा बढी कारोबार हुने सामग्री फलाम हो । त्यसपछि तामा र पित्तल जस्ता धातुहरू बढी पाइन्छ । ‘हामी कबाड संकलनकर्ताबाट प्रतिकेजी १५–१६ रुपैयाँमा किन्छौं । त्यसपछि राज्यलाई कर भ्याटबाहेक प्रतिकेजी ३ रुपैयाँ बुझाउँछौं, लोडरलाई तिर्छौं, अनि सबै खर्च कटाउँछौं । यसरी गर्दा हामीलाई प्रतिकेजी ५०–७५ पैसा मात्र मुनाफा हुन्छ,’ उनले भने ।
तर ठेकेदार कम्पनीले प्रतिकेजी ४ रुपैयाँ अतिरिक्त माग्दा आफूहरू ठुलो अन्यायमा परेको उनको दाबी छ । ‘हामीसँग यति धेरै खर्च हुन्छ । यस्तो अवस्थामा अझै बढी कमिसन तिर्नुपर्ने हो भने व्यवसायी टिक्नै सक्दैन,’ उनले भने ।
गुरुङका अनुसार पोखराबाट दैनिक ६–८ ट्रक कबाड बाहिर पठाइन्छ । फलाम मात्रको कारोबार दैनिक १ करोडदेखि १ करोड ८० लाख रुपैयाँसम्म हुने गरेको उनले सुनाए । यस्तो अवस्थामा ठेकेदार कम्पनीको मनपरीले आर्थिक गतिविधि नै अवरुद्ध भएको उनको भनाइ छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया