आस्था बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक साधारण सभा

समाधान संवाददाता २०८२ असोज ७ गते १८:४२

पोखरा । आस्था बचत तथा ऋण सहकारी संस्था पोखरा १ बगरको १५ औं वार्षिक साधारण सभा सोमबार भएको छ । सभामा साकोसका सल्लाहकार डा गंगादत्त सुवेदीले नेपाली अर्थतन्त्रमा सहकारीको अहम् भूमिका भएको र आस्था साकोसले कास्कीको सहकारी अभियानमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।

अब हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने, देशलाई कृषिप्रधानमात्र होइन, कृषकप्रधानसमेत बनाउनुपर्ने उनको धारणा छ । सदस्यहरु साधारण सभामा उपस्थित हुनेमात्र होइन, पूरा समय बसेर आफ्नो सहकारीका सम्पूर्ण गतिविधिबारे जानकारी लिने, खवरदारी गर्ने, सुझाव दिने गर्नुपर्नेमा उनको जोड छ ।

अहिले नेपालको सहकारी अभियानमा कैयौं चुनौती आइपरेको अवस्था रहे पनि आस्था सहकारीले सहकारी ऐन, नियम तथा मापदण्ड पालनामा विशेष ध्यान दिएकोमा निकै खुसी लागेको उनको भनाइ छ । सल्लाहकार लोकनाथ आचार्यले अहिले सहकारीले नाफा कमाउन सक्ने बेला नभएको र सदस्यले पनि नाफा खोज्ने बेला नभएको जनाए ।

Advertisement

कार्यक्रममा सहकारीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम, कोषाध्यक्ष बद्रीराज गौतमले आर्थिक प्रतिवेदन तथा आगामी बजेट र लेखा सुपरीवेक्षण समितिका संयोजक भीमप्रसाद आचार्यले लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

सोही अवसरमा संस्थाका सञ्चालक वसन्तकुमार आचार्यले स्थापना गरेको संस्था प्रवद्र्धन तथा विकास पुरस्कारबाट संस्थाका पूर्वसञ्चालक लक्ष्मी गुरुङ, संस्था प्रवद्र्धन तथा विकास पुरस्कारबाट लेखा सुपरीवेक्षण समितिका पूर्व सदस्य गिरधारी तिमिल्सिना, सदस्य गुणराज/पार्वती आचार्यले स्थापना गरेको जेहेन्दार विद्यार्थी पुरस्कारबाट प्रीती आचार्य सम्मानित बने ।

Advertisement

सदस्य घनश्याम आचार्यबाट स्थापित गुरुप्रसाद आचार्य स्मृति पुरस्कारबाट माध्यमिक शिक्षा उत्तीर्ण विद्यार्थी सदीक्षा बास्तोला सम्मानित हुँदा ज्येष्ठ सदस्यका रुपमा मित्रकुमारी गुरुङ, उत्कृष्ट कर्मचारीका रुपमा रामप्रसाद शर्मा, उत्कृष्ठ कारोबारी सन्तलाल परियार, वर्ष असल सदस्य शिक्षा उपसमितिकी संयोजक हसिना बस्नेत र सदस्य पूर्णबहादुर गुरुङ, आस्था उद्यमशीलता पुरस्कारबाट सदस्य सन्तोष प्रधान सम्मानित बने ।

साधारणसभाले आगामी ४ बर्से कार्यकालका लागि कृष्णप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र भीमप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समिति उपाध्यक्षमा वसन्तकुमार आचार्य, सचिव ज्ञानेश्वर सुवेदी, कोषाध्यक्ष बद्रीराज गौतम र सञ्चालकमा युवराज आचार्य, नरेन्द्रप्रसाद आचार्य, रमिला पौडेल, पुनम गुरुङ र ममता कोइराला निर्वाचित भएका छन् ।


लेखा सुपरीवेक्षण समितिको सदस्यमा मौसम तिमिल्सिना र धनबहादुर गुरुङ निर्वाचित भएका छन् । निर्वाचन उपसमितिको संयोजकमा जगन्नाथ अधिकारी र सदस्यहरुमा रुद्रबहादुर कार्की र हरिलाल आचार्य थिए ।

तपाईको प्रतिक्रिया