भाटभटेनीको मात्रै १० अर्बभन्दा बढीको क्षति, मीनबहादुरले प्रधानमन्त्रीलाई बुझाए विवरण

समाधान संवाददाता २०८२ असोज ८ गते ५:४४

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौँसहित देशभर भएका आगजनी र तोडफोडका कारण भाटभटेनी सुपरस्टोरले १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति व्यहोरेको छ । उक्त विवरण मंगलबार भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष बुझाएका हुन् ।

गुरुङका अनुसार बालुवाटारस्थित मुख्य शाखासहित १२ वटा स्टोर पूर्णरुपमा जलेर नष्ट भएका छन् । भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री, स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा उपकरण समेत आगोले खरानी बनाएको उनले बताए ।

त्यसबाहेक नौ वटा शाखामा तोडफोड र लुटपाट भएको र ती स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ ।

Advertisement

‘सबै शाखामा गरी १० अर्बभन्दा बढीको क्षति भएको छ’, गुरुङले भने, ‘तर पनि हामीले १० हजारभन्दा बढी कर्मचारीलाई बिदा नगर्ने र दसैं बोनस पूरा महिनाको दिने निर्णय गरेका छौँ ।’

उनले राज्यले चाहेमा आधा सम्पत्ति नै दिने प्रतिबद्धता जनाउँदै आएको भए पनि भाटभटेनीमाथि नियोजित रूपमा ‘टार्गेट’ गरिएको गुनासो पनि प्रधानमन्त्रीलाई सुनाएका थिए ।

Advertisement

भाटभटेनीका अनुसार १९ वटा शाखामा मात्रै चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँका सामग्री जलेका छन् भने ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामान तोडफोड र लुटपाटमा परेका छन् ।

तपाईको प्रतिक्रिया