जेनजी आन्दोलनले निजी क्षेत्रमा २ अर्ब ३१ करोडको घाउ

समाधान संवाददाता २०८२ असोज ८ गते १२:१०

पोखरा । भदौ २४ को साँझ, पोखराले दशैँ–तिहारको तयारी होइन, आगो र धुवाँको नसोचेको त्रास बोकेको थियो। जेनजी आन्दोलनको नाममा अराजक समूह सडकमा उत्रियो र सरकारी कार्यालय मात्र होइन, निजी घर–व्यवसायलाई समेत आगो र लुटपाटको ज्वालामा धकेलेर गयो।

पोखरा महानगरले गठन गरेको इन्जिनियर लक्ष्मीप्रसाद गौतम संयोजकत्वको मूल्याङ्कन समितिले हालसालै सार्वजनिक गरेको प्रतिवेदन भन्छ— त्यो दिनको क्रुरताले निजी क्षेत्रमा मात्रै करिब २ अर्ब ३१ करोड रुपैयाँको क्षति पुर्‍यायो। ४० भन्दा बढी संरचनामा लागेको आगोले व्यवसाय, पसल र सपनासम्मलाई खरानी बनाइदियो। आगोमा परेर दुईजनाले ज्यान पनि गुमाए।

न्यूरोडको भाटभटेनी सुपरमार्केट एक्लै १ अर्ब ३० करोडको क्षतिको प्रमाण बन्यो। होटल सरोवर ३० करोडको क्षति सह्यो। गण्डकीका मन्त्री विन्दुकुमार थापाको नयाँबजारस्थित कम्प्लेक्सदेखि लिएर उनका भाइ र छोराले सञ्चालन गरेका व्यापार–व्यवसायसम्म जल्दै गए—करोडौं खरानीमा परिणत भए। पोखरा इभेन्ट सेन्टर, सिर्जनाचोक सुपरमार्केट, गुडविल होटल, बरपिपल रिसोर्ट, पूर्वसांसद राजीव पहारीको घर… पीडाका लामो सूची अझै थामिनसकेको छ।

Advertisement

फेवा किनारका क्याफे, होटल, फार्मेसीदेखि लिएर स्थानीय बासिन्दाको घर र गाडीसमेत सुरक्षित रहेनन्। मेयर धनराज आचार्यदेखि सामान्य व्यापारीसम्मको घर र पसल जल्दा सहरले आफ्नै अंग जलिरहेको अनुभूति गर्‍यो। कतै आगोले खरानी, कतै लुटपाटले खालि कोठा—पीडितका आँखामा आँसु र ओठमा असहायता मात्र बाँकी छ।

‘हामीले क्षति भएको ठाउँमा गएर, पीडितसँग कुरा गर्दै, अनुमानित विवरण तयार पारेका हौँ,’ इन्जिनियर गौतम भन्छन्, ‘कतै क्षति कम देखियो, कतै भने अझ बढी पनि हुनसक्छ।’

Advertisement

पोखरा अहिले पनि त्यो दिनको धुवाँ र करायलाग्दो गन्ध सम्झिँदै छ। सहरले देखेको त्यो घाउ अझै पनि ताजा छ—२ अर्ब ३१ करोडको आँकडा भन्दा धेरै ठूलो पीडा बोकेको।

तपाईको प्रतिक्रिया