युवा प्रतिनिधित्वमा जोड

समाधान संवाददाता २०८२ असोज ८ गते १५:०२

पोखरा ।
जेन–जी आन्दोलनपश्चात् विकसित घटनाक्रमबारे अनेरास्ववियु जिल्ला कमिटी कास्कीले सोमबार युनियनका पूर्व तथा वर्तमान नेता कार्यकर्ताको भेला आयोजना गरेको छ ।


करिब १ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको भेलाले सबै खालका असहज परिस्थिति दृढतापूर्वक सामना गर्दै युनियनलाई थप सुदृढ र गतिशील बनाउने महत्वपूर्ण निर्णय गरेको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।


भेलामा नेकपा (एमाले) केन्द्रीय सदस्य राजीव पहारीले जेन–जी युवा पुस्ताले उठाएका सुशासन प्रवद्र्धन लगायतका विषयवस्तु सकारात्मक भए पनि आन्दोलनमा केही बाह्य घुसपैठ भएको आरोप लगाए । उनले जस्तोसुकै असहज परिस्थितिमा समेत एमालेको आस्था र विचार अविचलित रहने दाबी गर्दै पार्टीले युवाको भावनाको उच्च कदर गर्ने र सांगठनिक क्षेत्रमा युवाको व्यापक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement


एमाले कास्की उपाध्यक्ष भेषराज बरालले अहिलेको अवस्था आउनुमा अरूलाई दोषारोपण गर्नुभन्दा पनि आत्मसमीक्षा गर्दै सच्च्चिने र सुधार गर्ने पक्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले पार्टी भित्रका कमी, कमजोरी तथा चुनौतीलाई बाहिरी रूपमा व्यक्त गर्नुभन्दा आन्तरिक रूपमा गहन समीक्षा गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औँल्याए ।


एमाले कास्की सचिव दर्शन लामाले वर्तमान सन्दर्भमा जेन–जी पुस्ताले उठाएको पुस्तान्तरणको माग जायज भएको बताए । उनले पार्टीले युवाले उठाएका जायज मागहरूलाई सम्बोधन गर्दै हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गर्न विशेष ध्यान दिने चर्चा गरे ।

Advertisement


अनेरास्ववियुका पूर्व सचिवालय सदस्य तथा कास्कीका पूर्व अध्यक्ष दिलीप न्यौपानेले गौरवशाली इतिहास बोकेको अनेरास्ववियुले विकसित घटनाक्रमहरूको गम्भीर समीक्षा गर्दै संगठन शुद्धीकरण र सुदृढीकरणमा तत्काल लाग्न सुझाव दिए । उनले आन्तरिक एकता र सैद्धान्तिक स्पष्टताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।


भेलाले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशमा अनेरास्ववियुको भूमिकालाई थप प्रभावकारी बनाउने, युवाको आवाजलाई सशक्त रूपमा बुलन्द गर्ने र संगठनलाई समयसापेक्ष सुदृढ गर्दै अगाडि बढ्ने निश्कर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया