निकास खोज्न कांग्रेस गण्डकीको माग

समाधान संवाददाता २०८२ असोज ९ गते ११:५९

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै न्यायिक छानबिनको माग गरेको छ । समितिको असोज ७ गते बसेको बैठकले आन्दोलनमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


कांग्रेसले अवलम्बन गर्ने अबको बाटोका बारेमा पार्टी कार्यकर्ता, अन्य पार्टी र नागरिकहरूले पर्खिरहेको यस विषम परिस्थितिमा विगतदेखि उठाउँदै आएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका बारेमा पनि यथाशीघ्र निर्णय लिनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।

यसका लागि पार्टी पदाधिकारीको बैठक, केन्द्रीय कार्यसम्पादन समितिको बैठक, केन्द्रीय कार्यसमितिको बैठक, महासमितिको बैठक, विशेष महाधिवेशन वा १५ औँ अधिवेशनमध्ये कुन सहज हुन्छ, त्यसै निकायबाट यथाशीघ्र निर्णय लिई आजको निकास दिनुपर्दछ र देश जलेको विषम परिस्थितिमा कुनै पनि बहानामा समय खेर फाल्न नहुने बारेमा गम्भीर छलफल भएको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी दिए ।

Advertisement


बैठकले जेनजी आन्दोलनका जायज मागलाई आत्मसात् गर्दै आपसी सद्भाव, पार्टीबीच छलफल र समन्वयका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।


समितिले पार्टी कार्यकर्ता तथा नागरिकलाई यस विषम परिस्थितिमा विचलित नहुन र संयमित रहँदै आफ्नो कर्तव्य कर्ममा निरन्तरता दिन अनुरोध गरेको छ । प्रवक्ता बास्तोलाद्वारा जारी विज्ञप्तिमा देशमा जेनजी आन्दोलनबाट उत्पन्न राष्ट्रिय संकटबारे गम्भीर छलफल भएको जनाइएको छ । अन्तरिम सरकार, संसद विघटन, निर्वाचन मितिको घोषणा, धनजनको क्षति, जेनजीले उठाएका माग र संविधानको संशोधनका बारेमा नेपाली कांग्रेस पार्टीले अहम भूमिका निर्वाह गरी राष्ट्रिय संकटबाट देश, संविधान र नेपाली कांग्रेस पार्टीलाई बचाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

Advertisement


नेपाली कांग्रेस गण्डकी प्रदेशको पुनः अर्को बैठक बसी यस सम्बन्धमा निर्णयमा पुग्नेसमेत निर्णय गरिएको छ । बैठकले यसअघि भदौ २४ र २६ गते जेनजी आन्दोलनको क्रममा भएका धनजन क्षतिबारे प्रकाशित विज्ञप्तिलाई अनुमोदनसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया