‘बालबालिकालाई आन्दोलनमा प्रयोग गर्न पाइन्न’

समाधान संवाददाता २०८२ असोज ९ गते १२:३५

पोखरा ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराले जेनजी पुस्ताको आन्दोलनको क्रममा भएका मानव अधिकार उल्लंघनको अवस्थाको बारेमा बुधबार सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।


कार्यक्रममा आयोग गण्डकी कार्यालयका प्रमुख सहसचिव नीतु गर्तौलाले जेनजी आन्दोलन पछिको असहज अवस्थामा राज्यका निकायले शान्ति सुरक्षा कायम गर्ने सवालालाई ध्यान दिन पर्ने बताइन् । सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको लागि जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रर्दशनलाई जायज मान्न सकिने उनले उल्लेख गरिन् ।

‘शान्तिपूर्ण आन्दोलनमा राज्यका निकायले गरेको बल प्रयोगको विषय छानवीन हुनु पर्छ, ‘उनले भनिन्, ‘आन्दोलनमा नाममा भएका अराजक गतिविधि, सरकारी कार्यालय निजी व्यक्तिको निवास उद्योग प्रतिष्ठानमा भएको आगजनी तोडफोडको आयोजकले जिम्मेवारी लिन पर्छ ।’

Advertisement

उनले १३ वर्षदेखि १८ वर्षसम्मका बाल बालिकालाई आन्दोलनमा लैजान नपाइने जानकारी दिइन् । बाल बालिकालाई अपराधिक कामको छुट नहुने उल्लेख गर्दै उनले बाल बिज्याई गरेको बाल बालिकालाई व्यवस्थापन गर्न बाल सुधार गृहको व्यवस्था गरेको जानकारी दिइन् ।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको राज्य प्रणालीले राम्रो काम नगरेको कारण अहिलेको अवस्था आएको तर्क गरे । नेपालमा राज्य विहीनताको अहिलेको अवस्थामा अन्तरिम सरकार आफैमा केही नभएको उनले उल्लेख गरे । उनले अहिलेको असहज तथा संक्रमणकालिन अवस्थामा सुरक्षा निकाय र कर्मचारीतन्त्रले प्रभावकारी रुपमा काम गर्न नसक्ने बताए ।

Advertisement

घृणायुक्त भाषाको प्रयोग नगरी परिपक्क र विवेकपूर्ण निर्णय गर्न जेनजी पुस्तालाई सुझाव दिदै उनले जेनजी पुस्ताका १३ समूहलाई एक ठाउँमा आउन आग्रह गरे । उनले आन्दोलनमा कमी कमजोरी गर्नेले भूल स्वीकार गर्ने अवस्था आए माफी दिन पर्ने बताए ।


जेनजीका प्रतिनिधि सरोज पराजुलीले सुशासन प्रवद्र्धन र भ्रष्टाचार निवारणका अभियान चलाएको बताए । गत भदौ २३ गते जेनजीलाई हानी भएको र २४ गते देशलाई हानी भएको उल्लेख गर्दै उनले २४ गतेको आन्दोलन आफ्नो समूहको योजनामा नभएको दाबी गरे ।


मानव अधिकार आयोगका मानव अधिकार अधिकृत खीमलाल सुवेदीले वर्तमान असहज अवस्थामा राज्यका निकायले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पर्ने बताए । राज्य विहीनताको अवस्था लामो समयसम्म रहन नहुने उल्लेख गर्दै उनले कैदी बन्दी कारागार बाहिर रहेको अवस्थामा समग्र शान्ति सुरक्षामा ध्यान दिन पर्ने चर्चा गरे । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवालले जेनजी पुस्ताको उमेर समूहमा सबै पार्टीका युवा पर्ने बताइन् ।

सञ्जालका पूर्व संयोजक विष्णुप्रसाद बरालले दलगत स्वार्थलाई त्यागेर राष्ट्रिय सहमातिको वातावरण बनाउन माग गरे । मानव अधिकारकर्मी खगराज आचार्यले जेनजी आन्दोलनपछिको घटनाक्रमले चाडवार्डको बेलामा शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताए ।


कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव बराल, इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, सिविन पोखराका मनोविमर्शकर्ता कृष्णा गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया