विष्णुपादुका टोलमा सरसफाइ

समाधान संवाददाता २०८२ असोज ९ गते १४:१०

पोखरा ।
विजयादशमीको अवसरमा बुधबार पोखरा–२५ हेमजास्थित विष्णुपादुका टोलमा वृहत सरसफाइ कार्यक्रम भएको छ । ‘आफ्नो टोल आफैं सफा राखौँ’ भन्ने अभियानसहित विष्णुपादुका टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा विष्णुपादुका मन्दिर परिसर, हारहारी स्ट्रिट नम्बर ८, देवीस्थान मार्ग, मिलनचोक, एकतामार्ग र भिमसेनटोल लगायत क्षेत्रमा सरसफाइ गरियो ।


यसका साथै नहरचोकबाट हनुमानचोकसम्म राजमार्गका डिभाइडर समेत सफा गरियो । कार्यक्रममा राजमार्ग आसपासका घरधनीलाई प्रत्येक बिहान आफ्नो घर अगाडि सफा गर्न आग्रह गरियो ।


टोल विकास संस्थाका अध्यक्ष रामबहादुर सापकोटा (राजु) ले अबदेखि प्रत्येक हप्ता कम्तीमा १ घण्टा टोल सरसफाइ गरिने जानकारी दिए ।

Advertisement


अध्यक्ष सापकोटाले कतिपय व्यक्तिले फोहोर गाडीमा फाल्नुपर्ने सामग्री सिँचाइ नहरमा फाल्ने गरेको र यसले महामारी तथा दुर्गन्ध फैलाउने समस्या निम्त्याएको भन्दै अब टोल विकास संस्थाले कडा निगरानीसहित जथाभावी फोहोर फाल्नेहरूलाई जरिवाना गर्ने चेतावनी दिए ।


उनले भने– ‘हरेक टोलवासीले आफ्नो परिसर सफा राख्नुपर्छ, घरबाट निस्कने फोहोरलाई बोरामा जम्मा गरेर फोहोर गाडीमै हाल्नुपर्छ ।’

Advertisement


उनका अनुसार स्वच्छ वातावरण निर्माण गर्न टोलवासी नै सचेत र सक्रिय हुनुपर्छ । सरसफाइ कार्यक्रममा विष्णुपादुका टोलका बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो ।

तपाईको प्रतिक्रिया