पोखरामा फरार कैदी, तोडफोड, आगजनीमा संलग्नलाई पक्रन र चाडपर्व विशेष सुरक्षा योजना दिन ९२३ प्रहरी परिचालन

समाधान संवाददाता २०८२ असोज १० गते १७:१३

पोखरा ।
चाडपर्वका अवसरमा कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ सार्वजनिक गर्दै चोरी, डकैती, लुटपाटदेखि उच्छृंखल गतिविधि नियन्त्रण गर्न ९२३ जना प्रहरी परिचालन गरेको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाएर अशान्ति फैलाउने, जुवा–तास खेल्ने वा खेलाउने जस्ता गतिविधि नियन्त्रण गर्न विशेष योजना बनाई कार्यान्वयनमा ल्याइएको हो ।

Advertisement


यस क्रममा सवारी साधन चेकजाँच, यात्रुलाई सहजीकरण, बढी भाडा असुल गर्ने सार्वजनिक सवारीसाधनलाई कारबाही गर्ने, सिट क्षमताभन्दा बढी यात्रु चढाउनेविरुद्ध कारबाही गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । साथै, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दैनिक ‘डग’ सहितको चेकिङ, पैदल गस्ती, ग्रामीण गस्ती, पट्रोलिङ, एम्बुसिङ, चेकपोइन्ट, बजार अनुगमन तथा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्र.ना.उ. हरी बहादुर बस्नेतका अनुसार चाडपर्वका बेला आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले व्यापक सुरक्षा योजना लागू गरिएको छ । योसँगै प्रहरीले जेन जी आन्दोलनमा कारागारबाट भाग्ने कैदीबन्दी, तोडफोड र आगजानी र लुटपाटमा संलग्नलाई नियन्त्रण गर्ने गरी प्रहरी परिचालन गरेको कास्की प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया