अब पोखरा मुग्लिन सडकको आँबुखैरेनी खण्डमा ३० मिटर चौडाइको सडक विस्तारको बाटो खुल्यो

समाधान संवाददाता २०८२ असोज १४ गते ५:४४

पोखरा । पोखराबाट आँबुखैरेनीसम्म विस्तार भइसकेको सडक अब मुग्लिनसम्मै पुग्ने भएको छ। सरकारले आँबुखैरेनी–मुग्लिन पुल सडकखण्डको ‘राइट अफ वे’ अर्थात् सडकको सीमा निर्धारण गरेसँगै विस्तारका लागि बाटो खुलेको हो।

यसअघि सडक सीमा निर्धारण नभएकै कारण पोखरा–आँबुखैरेनी खण्ड विस्तार भए पनि आँबुखैरेनीबाट मुग्लिनतर्फको काम अघि बढ्न सकेको थिएन। उक्त खण्डको बीचमा मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस सडक किनारमै परेकाले विस्तार रोकिएको थियो।

Advertisement

तर आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पावरहाउसलाई नछुने गरी वैकल्पिक रेखांकन स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अब नयाँ सडक मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) हुँदै मर्स्याङ्दी नदीको बायाँ किनारमा, मर्स्याङ्दी विद्युतगृहको पारिपट्टीबाट जाने गरी बनाइनेछ।

यससँगै सरकारले सडकको केन्द्ररेखाबाट दायाँ–वायाँ १५–१५ मिटर गरी ३० मिटर चौडाइको मापदण्ड स्वीकृत गरेको छ। एशियाली विकास बैंक (एडिबी) को सहयोगमा विस्तार भइरहेको पोखरा–आँबुखैरेनी सडक अब मुग्लिनसम्मै निरन्तरता पाउनेछ भन्ने अपेक्षा गरिएको छ।

Advertisement

सडक विस्तारले काठमाडौँ–पोखरा बीचको दूरी छोट्याउने, यात्रु तथा मालसामान ढुवानीमा सहजता ल्याउने, र पर्यटकीय आवागमनलाई अझ बढी सुगम बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया