दसैँ बजारमा भीड छ; व्यापार छैन

प्रमिला कुँवर २०८२ असोज १५ गते ७:३४

पोखरा ।
‘सेलको लुगा पनि कति महंगो हो ।’ दसैंको किनमेल गरिरहेकी पोखराकी २८ वर्षिया निकिता कार्कीको भनाइ हो यो । दसैं नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । किनमेलमा निस्कनेहरू धेरै छन्, तर सबैको अनुहारमा उत्साह मात्र छैन, चिन्ता पनि मिसिएको छ ।


निकिता ‘सेल’ मा राखिएका कपडाका पसल घुम्दै थिइन् । एकातिर मन पर्ने कुर्था देखिन्छ, अर्कातिर मूल्य सुन्दा निराशा बढ्छ । उनलाई मन परेको कुर्थाको मूल्य चार हजार रुपैयाँ थियो ।

‘डिस्काउन्टमा राखिएको कुर्था पनि कति महंगो हो । एउटा कुर्थालाई चार हजार रुपैयाँ परेपछि बाँकी परिवारलाई केले किन्ने ? अनि दसैं खर्च कसरी धान्ने ?’, उनको प्रश्न छ ।

Advertisement


सहकारीमा काम गर्ने कार्कीको मासिक तलब २०÷२५ हजार रुपैयाँ छ । यही आम्दानीले परिवार पाल्ने मात्र होइन, चाडपर्वको खर्च पनि धान्नुपर्छ उनले । ‘तलबले घर खर्च चलाउन गाह्रो भएको छ, चाडपर्वमा त झन् समस्या पर्छ,’ उनले थपिन्, ‘पोहोरसम्म त केही सस्तो पथ्र्यो, अहिले कम्तीमा पनि एक हजार रुपैयाँ बढेजस्तो छ ।’


कार्कीजस्ता मध्यम आय भएका उपभोक्ताले चर्को मूल्यवृद्धिको भार महसुस गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा कपडा, जुत्ता, गहना मात्रै होइन, सामान्य उपभोग्य वस्तुमा समेत मूल्य बढ्दा उपभोक्ताको उत्साहभन्दा बढी चिन्ता बढेको छ ।

Advertisement


दसैंका बेलामा खाद्यान्न सामग्रीको मूल्यवृद्धिले उपभोक्तालाई समस्या परेको चिप्लेढुंगामा भेटिएकी सीता अधिकारीले भनिन् । चामल, दाल, तेल, चिनी सबैको भाउ बढेको उनले जानकारी दिइन् । अझैं महंगी बढ्ने चिन्ताले उनलाई सताएको छ ।


दसैं तिहारलाई लक्षित गरेर २ महिना अघि देखि बचत गरेपनि महंगीले चाववाड धान्न गाह्रो हुने उनको भनाइ छ । छोराछोरीको इच्छा पुरा गर्न कठिनाई भएको अधिकारीको गुनासो छ ।


‘चाडपर्वको बेलामा खर्च बढी हुन्छ भन्ने थाहा थियो, त्यसैले थोरै थोरै गरेर पैसा जम्मा गरेको थिएँ । तर सामानको भाउ चढेको छ कि त्यो पैसाले जीवन धान्न गाह्रो छ,’ अधिकारीले भनिन् । दसैंमा नयाँ कपडा लाउँदा छोराछोरी फुरुगं पर्छन्, उनीहरुको खुसीको लागी किन्दिनै पर्याे । चाडपर्वले रमाइलो गराएपनि महंगीले खल्लो पार्छ ।’


महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोडका ठूला पसलदेखि गल्लीका किराना पसलसम्म ग्राहकको भीड देखिन्छ । भीड बढेपनि व्यापारी र उपभोक्ता दुवैको चिन्ता भने एउटै छ, मूल्यवृद्धि । अघिल्लो वर्षको तुलनामा यसपालि व्यापार भने घटेको व्यवसायीले बताएका छन् । मूल्य वृद्धि हुँदा ग्राहकले सोचेर खर्च गरेका छन् ।


चिप्लेढुंगा मिनी मार्केटस्थित एच एण्ड के कलेक्सनकी सञ्चालक हरिकला तिमिल्सिनाले यो वर्षको दशैंमा व्यवसाय ठप्पजस्तै भएको बताइन् । अघिल्ला वर्षमा दशैं लागेपछि पसलमा ग्राहकको चहलपहल बढ्ने मात्र होइन, भीड नै थामिनसक्नु हुन्थ्यो भने यसपालि भने बजार सुनसान भएको उनको अनुभव छ ।


‘दशैं सुरु भएलगत्तै ग्राहकले पसल भरिन्थ्यो । बिहानदेखि बेलुकीसम्म कपडा हेर्ने, किन्नेको भीड हुन्थ्यो । तर यस वर्ष ग्राहक छैनन्, पसलमा खाली बसेर दिन काट्नुपरेको छ,’ उनले दुःखेसो पोखिन् ।


तिमिल्सिनाले यसपालि तीजमा भने केही राम्रै व्यापार भएको बताइन् । चाडवाडमा पाइन्ट, वानपिस लगाउने चलन हुँदा सम्म व्यापार राम्रै भएको उनको भनाइ छ । अहिले सारी कुर्थातिर आकर्षण बढ्दा, वानपिस पाइन्टको माग घटेको तिमिल्सिनाले बताइन् । साथै, मूल्यवृद्धि पनि ठूलो चुनौती बनेको छ ।

‘हामीले होलसेलमै सामान ल्याउँदा सामान महंगो पर्छ, त्यसमाथी ढुवानी र अन्य खर्च थपिँदा ग्राहकलाई झनै महंगो लाग्ने भयो,’ उनले भनिन् ।


चिप्लेढुंगा मिनी मार्केटमै फलफुल व्यवसाय गर्दै आएका सुमित क्षेत्रीले गत वर्षभन्दा ७० प्रतिशत सम्म व्यापार घटेको बताए । यो वर्ष व्यापार घट्ने संकेत भइसकेको उनले सुनाए । दशैंमा धान्न नसक्ने गरी फलफुल बिक्री हुन्थ्यो, अहिले भने औंलामा गन्न सकिने मात्र ग्राहक आएको उनले बताए ।


दसैंमा सधैं तात्ने बजार अहिले पसलमा फलफुल सजाएर बस्नुपरेको क्षेत्रीको भनाइ छ । उनी भन्छन्, ‘ग्राहक पसलमा त आउँछन्, तर आधा ग्राहक दाम सुनेरै फर्किन्छन् । गत भदौ २३/२४ गतेको जेनजी आन्दोलनले पनि प्रभाव पारेको छ । कारोबार कम भएको ।’


यसपाली दशैंमा फलफुलको खपत कटौती भएको उनले सुनाए । चाडपर्वमा पनि व्यापार नभएपछि घर खर्च, चाडपर्व मनाउन गाह्रो पर्ने उनले चिन्ता व्यक्त गरे ।


यसवर्ष व्यापार मध्यम स्तरको रहेको महेन्द्रपुलका जुत्ता व्यवसायी प्रवेज अन्सारीले बताए । पोहोरको तुलनामा यसपालि कम विक्री भए पनि अहिलेसम्मको कारोबार सन्तोषजनक रहेको उनको भनाइ छ ।


अन्सारीले भने, ‘दसैं आउन अझै केहि दिन बाँकी रहेकाले व्यापार बढ्न सक्ने अपेक्षा छ । आजभोली अनलाइन सपिङले थप चुनौती थपेको छ । गुणस्तरीय वस्तु र उचित मूल्यमा उपलब्ध गराए ग्राहकलाई आकर्षित गर्न सकिन्छ ।’
अन्सारीले पोखराको बजारलाई अवसर र चुनौती दुवै भएको धारणा राखे । चाडपर्वको समयमा व्यापार राम्रो भएपनि नियमित दिनमा मन्दि हुने उनले बताए ।

विरगञ्जका अन्सारी २४ वर्ष अघि रोजगारीको सिलसिलामा पोखरा आएका थिए । दुई दशकसम्म विभिन्न जुत्ता पसलमा काम गरेर सीप, सम्बन्ध र अनुभव बटुलेपछि दुई वर्षअघि आफ्नै जुत्ता व्यवसाय सुरु गरेका हुन् ।
उनको पसलमा पुरुष, महिला र बालबालिकाका लागि विभिन्न प्रकारका जुत्ता उपलब्ध छन् । उनले पोखरामै व्यवसायलाई विस्तार गर्ने लक्ष्य राखेका छन् ।


रानीपौवास्थित पहिरन कुर्था एण्ड सारी कलेक्सनका सञ्चालक गणेश थापा व्यापार राम्रै चलेकाले मख्ख छन् । चाडपर्वमा सारी कुर्था लगाउने चलन बढेकाले व्यवसायमा राम्रो प्रगति भइरहेको उनको अनुभव छ । लामाचौरका थापाले ४ वर्ष अघि पसल खोलेका हुन् ।


२० वर्ष विदेशमा काम गरेर फर्किएका थापाले स्वदेशमै केही गर्ने सोच बनाएर कपडाको व्यवसाय सुरु गरेका हुन् । बजारमा प्रतिस्पर्धा गर्न र ग्राहक तान्न कठिनाइ भए पनि उनले पसललाई लोकप्रिय गन्तव्य बनाउन सफल भएका छन् ।


थापाले विदेशमा कमाइ भए पनि त्यहाँको दुखभन्दा स्वदेशमै बस्न पाएको आत्मसन्तोष ठूलो रहेको बताए । ‘विदेशमा कमाई राम्रो भएपनि, घरजस्तो मनको शान्ति पाइँदैन । यहाँ व्यापार मध्यम भएपनि आफ्नै देशमा परिवारसँगै बस्न पाउनु ठूलो खुसी हो,’ थापाले भने ।


उनको पसलमा विभिन्न डिजाइनका सारी, कुर्था, पार्टी वेयरदेखि दैनिक प्रयोग हुने कपडासम्म उपलब्ध छन् । विशेषगरी युवती र महिलामाझ कुर्था सेट र सारीको माग उच्च रहेको उनले बताए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया