दसैँ मनाउनका लागि काठमाडौँबाट ५ लाख ५३ हजारभन्दा बढी बाहिरिए

काठमाडौँ । दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि मंगलबारसम्म ५ लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँ बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि विभिन्न नाका र पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताए ।
उनले भने, “यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।” चाडपर्वका समयमा तथा विषेशगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारीसाधनको सङ्ख्या एक लाख ८९ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।
यस्तै, काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारीसाधनबाट दुई लाख ८५ हजार ३०८ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँबसपार्क, जगतीलगायत नाकामा यात्रुको भीड देखिन्थ्यो ।
राजधानीबाट बाहिरिने यात्रुहरूको मुख्य माध्यम सार्वजनिक सवारी भए पनि निजी सवारीसाधन र पर्यटक बसको प्रयोग गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको छ । दसैँ नजिकिएसँगै गाउँमा पारिवारिक भेटघाट, दुर्गा पूजाको तयारी र टीका ग्रहणको वातावरण चुलिँदै गएको छ । काठमाडौँमा भने सवारी चाप घटेपछि सडक तुलनात्मक रूपमा फुर्सदिला देखिन थालेका छन् । रासस






४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया