दसैं अवधिभर मनसुनी प्रभाव, असोज* १७ देखि आरीघोप्टे वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार (असोज १४ गते) ‘दसैं विशेष मौसम बुलेटिन–२’ सार्वजनिक गरेको छ ।
महाशाखाले जारी गरेको विवरणअनुसार नेपालमा अहिले मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारतको ओरिसाबाट जमिनमा प्रवेश गरेर मध्य भारततर्फ सर्दै जाने भएकाले नेपालमा फेरि आर्द्रतायुक्त वायु प्रवेश गर्ने अनुमान गरिएको छ । त्यसको असर स्वरूप असोज १७ गते (एकादशी) देखि देशका विभिन्न भागमा मनसुनी गतिविधि पुनः सक्रिय हुने सम्भावना देखिएको हो ।
मौसमविद्हरूका अनुसार यस वर्षको दसैं अवधिभर मनसुनी वायुको प्रभाव रहने छ । असोज १७ गते कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ ।
असोज १८ गते (द्वादशी) मा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने देखिन्छ । यस दिन केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने र बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, असोज १९ गते (त्रयोदशी) मा पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ । सोही दिन यी प्रदेशका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने र एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने देखिएको छ ।
महाशाखाले दसैंको अन्तिमतिर मनसुन अझ सक्रिय हुने सम्भावना रहेको भन्दै सम्भावित वर्षाका कारण बाढी, पहिरो, भूक्षयजस्ता जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । साथै सडक तथा हवाई यातायात पनि प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।
*गल्ती सुधार गरिएको








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया