मुस्ताङ भन्सारमा २ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन

सुन्दरकुमार थकाली
नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा २ अर्ब २ करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत भदौ ३१ गते पूर्णरुपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मंगलबार बिहानसम्म उक्त राजस्व संकलन गरेको हो।
यो भन्सार कार्यालयको इतिहासमै पहिलोपटक त्यति ठूलो अनुपातमा राजस्व संकलन भएको हो। यहाँ दैनिक औसत १३ करोड ६६ लाख रुपैयाँभन्दा बढी अनुपातमा राजस्व संकलन गर्न सफल भएको देखिएको छ। यसअघि यहाँको भन्सार कार्यालयले वर्षैपिच्छे सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तुको राजस्व १० देखि १५ लाख रुपैयाँमै सीमित रहन्थ्यो। यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो छ।
सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको छ। यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका १ हजार १ सय ९ विद्युतीय सवारी साधनमध्ये ९ सय ६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए। भन्सार कार्यालय न्हेचुङमा हाल १ सय ४४ विद्युतीय सवारी साधनको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ।
यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३ सय ७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गरे। यहाँको भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन्।
असोज १८ गते अर्थात पूर्णिमासम्म दसैँको सार्वजनिक बिदा भएको र दसैँ मनाएर कार्यस्थलमा फर्किन दुई दिन समय लाग्ने भएकाले सम्भवत २१ गतेदेखि पुनः भन्सारका नियमित कार्यसम्पादन सुरु हुने भन्सारका नायब सुब्बा उत्तम राईले जानकारी दिए।
नेपाल-चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ। नाका सञ्चालनले यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।
यसैगरी नाकामा स्थानीय नागरिक र सवारी चलाउन जान्ने युवाहरुले राम्रो आम्दानी गरेको अध्यक्ष गुरुङको भनाइ छ। नाकाको सीमापारी भन्सारमा लोड अनलोड गर्ने तथा त्यहाँ चीनको भन्सारमा ल्याएका विद्युतीय सवारी साधन चलाएर बाहिर निकाल्ने युवाहरुले मनग्ये आम्दानी गर्ने बाटो खुलेको उनले उल्लेख गरे।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया