विपद् व्यवस्थापनमा सुशासन र सेवा प्रवाह अटुट राख्न गृहमन्त्री अर्यालको निर्देशन

समाधान संवाददाता २०८२ असोज १६ गते २१:४७

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा आएको संवेदनशीलताका कारण विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नागरिकसँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए।

भोलि असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षा हुने पूर्वानुमानका पृष्ठभूमिमा आयोजित मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अर्यालले सम्भावित विपद्बाट जनधनको क्षति न्यून पार्न सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य र प्रभावकारी सञ्चार आवश्यक रहेको बताए। उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह कतै नटुट्ने गरी अघि बढ्नुपर्नेमा पनि जोड दिए।

Advertisement

गृहसचिव रामेश्वर दंगालले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्लास्तरमा जिल्ला सुरक्षा समिति/विपद् व्यवस्थापन समितिले नेतृत्व सम्हाल्दै एकद्धार नीति अनुसार पूर्वतयारी, खोज तथा उद्धार कार्यलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे। उनले केन्द्रदेखि जिल्लासम्म मनसुन प्रतिकार्य कमाण्ड पोस्टहरुलाई सक्रिय बनाउन निर्देशन पनि दिए।

बैठकको अध्यक्षता गरेका प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार सबै जिम्मेवार निकाय सक्रिय हुनुपर्नेमा जोड दिए।

Advertisement

बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका सदस्य, चारवटै सुरक्षा निकायका प्रमुख तथा विपद् फोकल पर्सनको उपस्थिति रहेको थियो।

बैठकले जोखिमपूर्ण क्षेत्रमा असोज १७ देखि २० सम्म सवारी साधन सञ्चालनमा रोक लगाउने, सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सावधान गराउने, तथा खोज–उद्धारका लागि सबै सुरक्षा निकाय र स्वयंसेवकलाई आवश्यक सामग्रीसहित तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

त्यसैगरी, यस अवधिमा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सक्रिय राख्ने र आपत्कालीन गोदाम तत्काल प्रयोगमा आउने गरी तयारी अवस्थामा राख्ने पनि बैठकले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया