झरीका कारण दसैं बिदा लम्बियो, भोलि र पर्सि बिदा थप

समाधान संवाददाता २०८२ असोज १८ गते १४:३३

पोखरा । लगातारको वर्षा र देशभरको प्रतिकूल मौसमका कारण सरकारले आइतबार र सोमबार थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दसैंको बिदा सकिएर सरकारी कार्यालयहरू भोलिदेखि (आइतबार) खुल्ने तय भएपनि, लगातारको अविरल वर्षाले सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आकस्मिक रूपमा बिदा थप गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “देशभरको अविरल वर्षाका कारण आवतजावत असहज भएको, केही स्थानमा सडक र पुल बगाएको, र जनजीवन सामान्य अवस्थामा फर्किन नसकेको अवस्था देखिएकाले आइतबार र सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।”

उनका अनुसार बिदाका दिनहरूमा आकस्मिक र अत्यावश्यक सेवाबाहेकका सबै सरकारी कार्यालयहरू बन्द रहनेछन् । अस्पताल, सुरक्षानिकाय, विद्युत्, पानी, सञ्चार र उद्धारसँग सम्बन्धित सेवा भने नियमित रूपमा सञ्चालन हुनेछन् ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेशका विभिन्न स्थानमा अझै दुई दिनसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।

यसअघि सरकारको दसैं बिदा शुक्रबार सकिएको थियो । तर, विभिन्न जिल्लामा उत्पन्न बाढी–पहिरो र सडक अवरोधका कारण जनसुरक्षालाई ध्यानमा राख्दै सरकारले आकस्मिक रूपमा बिदा थप गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया