जेनजी आन्दोलनका कारण मनाङको उपनिर्वाचन स्थगित

समाधान संवाददाता २०८२ असोज २० गते ६:१०

पोखरा । कात्तिक १७ गतेका लागि तय गरिएको मनाङ १ (ख) प्रदेशसभा क्षेत्रको उपनिर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै पछिल्ला राजनीतिक तथा सुरक्षा परिस्थितिलाई मध्यनजर गरी निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

आयोगका अनुसार मन्त्रिपरिषदका सदस्यहरूसँग भएको उच्चस्तरीय छलफलपछि उक्त निर्णय गरिएको हो । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तहरू डा. सगुन समशेर जबरा र डा. जानकी तुलाधरलगायतको उपस्थिति रहेको आयोगले जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत भदौ २३ मा भएको आन्दोलन र त्यसपछिका घटनाक्रमले मनाङ जिल्लाको निर्वाचन तयारी प्रभावित भएकाले आयोगले हालका लागि उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण वातावरण बनेपछि नयाँ मिति निर्धारण गरिनेछ ।”

Advertisement

मनाङ १(ख) मा उपनिर्वाचन आवश्यक पर्नुको कारण भनेको यस क्षेत्रबाट निर्वाचित सांसद दीपक मनाङ्गे (राजिव गुरुङ) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि रिक्त भएको स्थान पूर्ति गर्न निर्वाचन तय गरिएको थियो । तर, पछिल्ला दिनमा जिल्लामा देखिएको अस्थिरता र आवतजावतमा परेको कठिनाइका कारण निर्वाचन सञ्चालन असम्भव देखिएको आयोगको मूल्याङ्कन छ ।

निर्वाचन आयोगका एक अधिकारीका अनुसार मनाङ जिल्लाको भौगोलिक जटिलता, अविरल वर्षा र सडक अवरुद्धताका कारण पनि तयारी प्रभावित भएको छ । आयोगले निर्वाचन स्थगनको निर्णयबारे स्थानीय प्रशासन र राजनीतिक दलहरूलाई आधिकारिक जानकारी गराइसकेको छ ।

Advertisement

नयाँ मिति कहिले तोकिने भन्ने विषयमा आयोगले ‘स्थानीय सुरक्षा मूल्याङ्कन र वातावरण सुधार’ पछिमात्र निर्णय हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया