अख्तियारका पदाधिकारीको सामूहिक राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले आयोगमै दर्ता गरायो पत्र

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अन्य आयुक्तहरूको सामूहिक राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमै औपचारिक पत्र दर्ता गरेको छ ।
समूहले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत राजीनामाको आग्रह गरेको थियो । तर आज उनीहरू टंगालस्थित अख्तियार मुख्यालयमा भौतिक रूपमा पुगेर लिखित पत्र दर्ता गर्न पुगे ।
जेनजी मुभमेन्ट अलायन्सका नेता रिजन राना (आदित्य)ले भने, ‘हामीले आज उपस्थितिमै पत्र दर्ता गर्यौं । अब पनि राजीनामा नआए थप संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले त्यसबारे सल्लाह भइरहेको छ ।’
यसअघि अलायन्सले जारी गरेको विज्ञप्तिमा अख्तियार प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रिया विना गरिएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार प्रमुख र आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदीय सुनुवाइ नगरी गरेको थियो । त्यसले अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको छ ।’
समूहले विशेष अदालतको हालैको फैसलामा प्रमुख आयुक्त राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’को टिप्पणी आएको भन्दै उनको निष्पक्षता विवादास्पद भएको उल्लेख गरेको छ ।
जेनजी मुभमेन्ट अलायन्सले नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिदजस्ता ठूला विवादास्पद मुद्दामा प्रमुख आयुक्तको नाम जोडिँदै आएको भन्दै उनले नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिनुपर्ने माग गरेको छ ।
समूहका अनुसार अहिले संघीय संसद् नहुँदा महाअभियोगमार्फत पदमुक्त गर्न सम्भव नभएकाले स्वेच्छिक राजीनामाबाटै अख्तियारको गरिमा पुनःस्थापना गर्न सकिने उल्लेख गरिएको छ ।
हाल ३९ जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूहहरूको सहभागितामा जेनजी मुभमेन्ट अलायन्स गठन गरिएको छ ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया