हमासको बन्धक बनेका नेपाली युवा विपीन जोशीको भिडियो सार्वजनिक

समाधान संवाददाता २०८२ असोज २३ गते ८:०५

काठमाडौं । करिब एक वर्षअघि हमासले अपहरण गरेका नेपाली युवा विपीन जोशीको जीवित रहेको प्रमाणस्वरूपको भिडियो सार्वजनिक भएको छ । बुधबार साँझ इजरायली गुप्तचर निकायले प्राप्त गरेको ३३ सेकेन्डको भिडियो सार्वजनिक गरेको इजरायली समाचार संस्था जेरुसेलम पोस्ट ले जनाएको छ ।

भिडियोमा विपीन जोशीले आफ्नो परिचय दिँदै अपहरणअघि इजरायलको एक कृषि फार्ममा काम गरिरहेको बताउँछन् । उक्त दृश्य सार्वजनिक भएपछि उनको परिवारले विज्ञप्ति जारी गर्दै “जीवनको यो प्रमाणले उहाँ जीवित हुनुहुन्छ भन्ने हाम्रो अटुट विश्वासलाई अझ बलियो बनाएको छ” भनेका छन् ।

जोशी अक्टोबर ७ को हमलाअघि मात्र इजरायल पुगेका थिए । उनी नेपालबाट लर्न फर अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ नेपालीमध्ये एक हुन् । अपहरण हुनुको तीन साताअघि मात्रै उनी किबुत्ज अलुमिम नामक बस्तीमा पुगेका थिए, जहाँ अन्य नेपाली कामदारहरू पनि कार्यरत थिए ।

Advertisement

अमेरिकी दैनिक वाल स्ट्रिट जर्नल ले सन् २०२३ नोभेम्बरमा प्रकाशित रिपोर्टमा जोशीले हमलाका क्रममा आफ्नो समूहका धेरैजनाको ज्यान बचाएको उल्लेख गरेको थियो । रिपोर्टअनुसार, जब उनको कोठामा दुईवटा ग्रेनेड प्रवेश गरे, उनले तीमध्ये एक ग्रेनेड समातेर बाहिर फ्याँकेका थिए । दोस्रो ग्रेनेड भने विस्फोट भएको थियो, जसमा उनका पाँच साथी गम्भीर घाइते भएका थिए ।

जोशीलाई त्यसपछि हमासले गाजामा लगेको थियो र केही समय शिफा अस्पतालमा राखिएको बताइन्छ । अस्पतालमा भएको भिडियोपछि उनको जीवित अवस्थाबारे ठोस जानकारी नआएको बेला यो ताजा भिडियो सार्वजनिक भएको हो ।

Advertisement

यस वर्षको सुरुमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोशीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । तर इजरायलस्थित नेपाली दूतावासले द जेरुसेलम पोस्ट सँग कुरा गर्दै ट्रम्पको अभिव्यक्तिभन्दा अघि आफूहरूलाई कुनै जानकारी नआएको स्पष्ट गरेको थियो ।

२५ वर्षका विपीन जोशी दुई वर्षअघि कृषि तालिमका लागि इजरायल पुगेका थिए । अपहरणमा पर्नु २५ दिनअघि मात्रै उनले उक्त कृषि फार्ममा काम सुरु गरेका थिए ।
उनको ताजा भिडियो सार्वजनिक भएपछि नेपालमा रहेका परिवार र साथीहरूमा समेत आशा पुनः जागेको छ ।

तपाईको प्रतिक्रिया