नास्ट, शिक्षा विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा मन्त्री पुनको अनुगमन, उद्देश्य अनुसार काम गर्न निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा बुधबार क्रमशः दुईदेखि तीन घण्टासम्मका विस्तृत छलफल र अनुगमन गरी ठोस निर्देशन दिएका छन् । उनले तीनै संस्थामा अध्ययन, अनुसन्धान र सुधारका विषयमा तत्काल कार्ययोजना तयार गर्न निर्देशन दिएका हुन् ।
सबैभन्दा पहिला नास्टमा करिब दुई घण्टा समय बिताउँदै मन्त्री पुनले त्यहाँका प्रयोगशाला र भवनहरू अवलोकन गरे । उनले ३७ करोड रुपैयाँको वार्षिक बजेटमध्ये २७ करोड प्रशासनिक खर्च र १० करोड अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याइएको जानकारी पाएको बताए । पुनले नास्टका कर्मचारी र अनुसन्धानकर्मीहरूलाई एक साताभित्रै ‘नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिन’ निर्देशन दिएका छन् । उनले भने, ‘भवन र ल्याबहरू उच्चस्तरका छन्, त्यसअनुसारको काम पनि हुनुपर्छ । भवन जति भव्य छन्, त्यति नै गुणस्तरीय अनुसन्धानका परिणाम पनि देखिनुपर्छ ।’
त्यसपछि उनी शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगे । सो केन्द्रमा करिब तीन घण्टा छलफल गर्दै उनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरू गाभ्ने (मर्ज) प्रक्रिया, योग्य र सक्षम प्रधानाध्यापकको नियुक्तिका लागि देशभर लागू हुने कार्यविधि बनाउन निर्देशन दिए । उनले अनलाइन सिकाइलाई प्रभावकारी बनाउन ‘डिजिटल शैक्षिक सामग्री निर्माण’ मा जोड दिन समेत निर्देशन दिएका छन् ।
शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनका लागि मन्त्री पुनले भने, ‘अब विद्यालयमा सूचना प्रविधिको प्रयोग अनिवार्य छ । शिक्षक तालिम र विद्यार्थी सिकाइ दुवैलाई डिजिटल माध्यमसँग जोड्नुपर्छ ।’
त्यसपछि पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा छलफल गर्दै मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रम विकासलाई ‘गम्भीर र समयमै सम्पन्न गर्नुपर्ने’ बताए । उनले पाठ्यक्रम परिमार्जन र अद्यावधिकमा ढिलाइ नगर्न र मातृभाषाका पाठ्यपुस्तक विकासमा सहयोग गर्न निर्देशन दिए ।
त्यसैगरी पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक सीप, इतिहास र संविधानसम्बन्धी ज्ञानलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले भने, ‘पाठ्यपुस्तकले विद्यार्थीमा सोच्ने, बुझ्ने र जिम्मेवार नागरिक बन्ने क्षमता विकास गर्नुपर्छ ।’
मन्त्री पुनले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषयलाई १०० पूर्णाङ्कको अनिवार्य विषयका रूपमा लागू गर्न लागिएको जानकारी दिँदै त्यसका लागि पाठ्यक्रम तत्काल तयार गर्न निर्देशन दिए ।
तीनै संस्थामा भएको छलफलमा मन्त्री पुनले नीतिगत निर्णय मात्रै होइन, व्यवहारिक सुधारमा जोड दिए । उनले भने, ‘हामीसँग भौतिक पूर्वाधार छ, अब त्यसअनुसारको परिणाम देखाउन सक्नुपर्छ । अनुसन्धान र शिक्षा सुधार दुवै क्षेत्रमा अब गफ होइन, कार्यान्वयनको समय आएको छ ।’







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया