जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित

पोखरा । – जेन–जी आन्दोलनका क्रममा जिल्ला मालपोत कार्यालय कास्कीका अधिकांश अभिलेख जलेर नष्ट भए पनि पोखराको केही क्षेत्रका स्रेस्ता भने सुरक्षित रहेको कार्यालयले जनाएको छ।
कार्यालयले बिहीबार जारी गरेको सूचनामा पोखरा महानगरपालिका–११, १२, १३ सहित कास्कीकोट, हेमजा, भलाम, मौजा, काहु, आर्बा विजय र विजयपुर क्षेत्रका जग्गा सम्बन्धी स्रेस्ता सुरक्षित रहेको पुष्टि गरेको हो।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा कार्यालय भवनमा भीषण आगलागी हुँदा अधिकांश भौतिक संरचना र अभिलेख नष्ट भएका थिए। तर केही क्षेत्रमा रहेको मूल स्रेस्ता (भूमि अभिलेख) सुरक्षित रहनु “सकारात्मक समाचार” भएको कार्यालयले उल्लेख गरेको छ।
यसअघि बुधबार मालपोत कार्यालयले अर्को सूचना जारी गरी आन्दोलनका कारण अवरुद्ध भएका सेवा पुनःसञ्चालनका लागि भूमि व्यवस्था तथा अभिलेख विभागले सेवा पुनःस्थापना प्रक्रिया अघि बढाएको जानकारी दिएको थियो।
सेवा पुनः सुरु गर्न विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने बताउँदै कार्यालयले जग्गाधनीहरूलाई आवश्यक कागजातहरू सहित किटानी सिफारिस तयार गर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, “जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, नागरिकताको प्रतिलिपि, तीन पुस्ते खुलेको फोटोसहितको सिफारिस, सर्जमिन मुचुल्का, सक्कल पुर्जा र पारित लिखत संलग्न गर्नुपर्नेछ।”
त्यस्तै, रोक्का जग्गाको हकमा रोक्का राख्ने निकायको सहमति पत्र, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, नक्शा, प्लष्ट रजिस्टर, फिल्डबुक लगायतका प्रमाणहरू पेस गर्न भनिएको छ। आवश्यक परेमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।
गुठि जग्गाका हकमा गुठि संस्थानको सहमति पत्र र अन्य आवश्यक प्रमाणहरू पेश गर्नुपर्ने कार्यालयले जनाएको छ।
यसअघि मंगलबार जारी अर्को सूचनामार्फत कार्यालयले रोक्का जग्गा अभिलेख अद्यावधिक गर्न सम्बन्धित निकाय र जग्गाधनीहरूलाई आग्रह गरेको थियो।
आगलागीपछि पूर्ण रूपमा क्षतिग्रस्त कार्यालय अहिले पुनःनिर्माण र अभिलेख पुनर्संरचना प्रक्रियामा रहेको छ। सुरक्षित रहेका क्षेत्रका स्रेस्ता भने डिजिटल अभिलेखीकरणमार्फत दीर्घकालीन संरक्षणमा लैजाने तयारी भइरहेको मालपोत स्रोतले जनाएको छ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया