लेकसाइडमा ‘अम्रेला स्ट्रिट’

प्रमिला कुँवर २०८२ असोज २६ गते १६:१८

पोखरा ।
पोखराको लेकसाइड अहिले नयाँ रुप र रंगले झल्किएको छ । हल्लन चोकको सडक माथि टाँगिएका रंगीचंगी छाताहरुले यहाँको वातावरणलाई झन् मनमोहक बनाएका छन् । सामाजिक सञ्जालमा ती छाताहरूका तस्वीर र भिडियोहरू भाइरल भएपछि पोखरामा पर्यटकहरूको आकर्षण बढ्न थालेको छ ।


सेतो र रातो रंगका छाताले ढाकिएको सडकले आन्तरिक र विदेशी पर्यटक दुवैलाई लोभ्याएको छ । हल्लनचोकको आकास छाताको आकास बनेको छ । छातामुनि उभिएर फोटो र भिडियो खिच्नेहरूको भीड बढ्दै जाँदा हल्लन चोक नयाँ ‘फोटो स्पट’ को रुपमा चर्चित बनेको छ ।


लेखनाथबाट अम्रेला स्ट्रिट घुम्न आएका ईश्वरी शर्मा र कृष्णकुमारी ढकाल फोटो खिच्न र टिकटक बनाउन व्यस्त थिए । रंगीन छाताको सजावटले सडक मनमोहक बनाएको उनीहरुले बताए । ‘हामी साथीहरुसँगै घुम्न आएका हौं, फोटो खिच्ने र टिकटक बनाउने अवसर पाउँदा रमाइलो अनुभूति भइरहेको छ । चाडवाडको बेलामा घुमघाम गर्ने थलो बनेको छ,’ उनीहरुले भने ।

Advertisement


दसैंअघि कोकाकोला कम्पनीले आफ्नो ब्रान्ड प्रचार गर्ने उद्देश्यले सडकमा रंगीचंगी छाता सजाएको हो । विन्डमिल एडभान्टेज कम्पनीको सहकार्यमा करिब १५ सय छाता (अम्रेला) सडकमा झुण्ड्याइएको कम्पनीका मार्केटिङ अफिसर महेश जोशीले जानकारी दिए ।


उनका अनुसार, यो अभियानका लागि छ महिनाको सम्झौता गरिएको छ । सम्झौता अवधिभित्र छातामा कुनै क्षति भएमा समयमै मर्मत गर्ने व्यवस्था गरिएको छ । अभियान प्रभावकारी भएमा सम्झौता अवधि थप्ने योजना रहेको उनको भनाइ छ ।

Advertisement


‘नगरपालिकासँग विज्ञापन कर तिरेर छ महिनासम्मको लागि अनुमति प्राप्त गरिएको छ । साथै, पर्यटक र सर्वसाधारणका सुविधाका लागि ‘अम्ब्रेला स्ट्रिट’मा कोकाकोला भ्यानमार्फत बिक्रीको व्यवस्था पनि मिलाइएको छ, यो तिहारसम्म सञ्चालन हुनेछ,’ उनले भने ।


स्थानीय व्यवसायीहरुले छाताको सजावटपछि पर्यटकको आवागमन निकै बढेको बताएका छन् । होटल, रेस्टुरेन्ट र पसलहरुमा पनि नयाँ उत्साह देखिएको छ । चहलपहलले पर्यटकीय माहोल फस्टाएपनि व्यापारमा भने सुधार नभएको उनीहरुको गुनासो छ । छाता हेर्ने र फोटो खिच्ने टिकटक बनाउनेको भीड धेरै भएपनि व्यापार भने ठप्प छ । पर्यटन प्रवद्र्धनका साथै व्यवसाय पनि सक्रिय बनाउनुपर्ने योजना बनाइनुपर्ने उनीहरुको माग छ । भीडबाट आर्थिक फाइदा लिन सकेमा मात्र प्रवद्र्धनको सहि प्रयोग हुने उनीहरुको भनाइ छ ।


फोटोग्राफर र साना व्यवसायीहरुका लागि भने सुनौलो मौका बनेको छ । अम्रेला स्ट्रिटमा दैनिक सयौँ मानिस फोटो र भिडियो खिच्न आउने भएकाले, फोटोग्राफरहरुका क्यामेरा व्यस्त छन् । पहिले दिनमा पाँच–छ जना ग्राहक हुन्थे भने अहिले १५÷२० जना सजिलै आउँने एक फोटोग्राफरले बताए ।


चटपट, फलफूल बेच्ने साना व्यापारीका लागि पनि अवसको ढोका खोलिदिएको छ । चटपट र पानीपुरीको थेग्नै नसक्ने माग बढेको चटपटे व्यवसायी कमला पौडेलले बताइन् । छाताको सजावटपछि पर्यटकको चहलपहल बढेको र वरिपरिको क्षेत्रको व्यापारलाई समेत फाइदा पुगेको उनले बताइन् । यसबाट साना व्यवसायलाई प्रोत्साहन मिलेको बताउँदै दिनमा ३ हजार रुपैयाँ सम्म आम्दानी भएको पौडेलले जानकारी दिइन् ।


सडकमाथि राखिएको रंगीन छाताले थोरै भएपनि पर्यटक चलायमान बनाएको र सकारात्मक सन्देश दिएको पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई बताउँछन् । अम्रेला स्ट्रिट आन्तरिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको उनले उल्लेख गरे ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया